कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

होमल्याण्ड खबर

२०८३ श्रावण २८ गते, बिहीबार १४:०० मा प्रकाशित

नेपाली कांग्रेसले महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याउने उद्देश्यले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठकले पार्टी केन्द्रीय कार्यालय परिसरमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यममा संलग्न महिला उद्यमीहरूको सहभागिता रहनेछ । महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा उद्यमशीलताका लागि प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ ।

यसैगरी, बीपी स्मृति दिवसका अवसरमा गत श्रावण ६ गते आयोजना गरिएको ग्रीन रन प्रतियोगिताअन्तर्गत महिलातर्फको दौड पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्राविधिक कारणले त्यस दिन महिला दौडको विजेता घोषणा गर्न नसकिएकाले भदौ ६ गते पुनः दौड सञ्चालन गर्न लागिएको हो ।

पुनः सञ्चालन हुने दौडमा यसअघि दर्ता भइसकेका सहभागीका साथै नयाँ इच्छुक महिलालाई समेत सहभागी गराइने कांग्रेसले जनाएको छ ।

बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति गठन गरेको छ । उक्त उपसमितिलाई केन्द्रीय सदस्य डा. अमिता प्रधानले सहजीकरण गर्ने निर्णय भएको छ ।

प्रतिष्ठानको सातौं बैठकका बाँकी विषयमा छलफल गर्न भदौ पहिलो साता पुनः बैठक बस्ने गरी स्थगित गरिएको छ ।