ऊर्जा मन्त्री श्रेष्ठका निजी क्षेत्र सल्लाहकारमा गणेश कार्की नियुक्त

होमल्याण्ड खबर

२०८३ श्रावण २९ गते, शुक्रबार १२:१७ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रको तर्फबाट ऊर्जा उद्यमी गणेश कार्कीलाई सल्लाहकार नियुक्त गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का निवर्तमान अध्यक्षसमेत रहेका कार्कीलाई मन्त्री श्रेष्ठले बिहीबार निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका हुन् ।

पछिल्लो समय निजी क्षेत्रले विद्युत् उत्पादनदेखि विद्युत् व्यापारसम्म विभिन्न माग उठाउँदै आएको छ। विद्युत् उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको निजी क्षेत्रले विद्युत् खरिद सम्झौता खुलाउनुपर्ने, विद्युत् व्यापारमा सहभागिता सुनिश्चित गर्नुपर्ने लगायतका माग गर्दै आएको छ ।

निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन गर्न कार्कीको अनुभव र सुझाव मन्त्री श्रेष्ठका लागि उपयोगी हुने विश्वास गरिएको छ। निजी क्षेत्रका सक्रिय उद्यमीलाई सल्लाहकार नियुक्त गर्ने निर्णयलाई ऊर्जा क्षेत्रका उद्यमीहरूले सकारात्मक रूपमा लिएका छन् ।

कार्कीसँग जलविद्युत् क्षेत्रमा प्रवर्द्धकका साथै विद्युतीय तथा यान्त्रिक उपकरण आपूर्तिकर्ताका रूपमा लामो अनुभव रहेको छ। उनी सिंगटी हाइड्रोपावर कम्पनी, पिपुल्स हाइड्रोपावर, बेनी हाइड्रोपावर तथा युनियन हाइड्रोपावर कम्पनीमा संलग्न छन् ।

यसका साथै उनी बीजी समूहलगायत विभिन्न व्यावसायिक उपक्रममा प्रवर्द्धकका रूपमा सक्रिय छन् । च्यानकाङ अलअनवर्ड हाइड्रो–इक्विपमेन्ट कम्पनी, बैहव पावर नेपाल तथा क्रिम हाइड्रोपावरका निर्देशकका रूपमा पनि उनी कार्यरत छन् ।

कार्की नेसनल गोजुर्यु कराते एसोसिएसन नेपालका अध्यक्ष हुन् भने नेपालका लागि गणतन्त्र मौरिससका मानार्थ वाणिज्यदूतको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन् ।