कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुन पुगे देउवा

होमल्याण्ड खबर

२०८३ श्रावण २९ गते, शुक्रबार १४:४४ मा प्रकाशित

नेपाली कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा सहभागी भएका छन्। उनी बिहीबार मात्रै काठमाडौं फर्किएका थिए।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि गत १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए।

उपचारपछि बिहीबार काठमाडौं फर्किएका देउवा शुक्रबार मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी भएका हुन्।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो। भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा. कोइराला समूहका नेता–कार्यकर्ताको सहभागिता रहेको छ।

भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, विशेष महाधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ।