‘म हिन्दु हुँ ’ कुनै पनि धर्मको विरोधी होइन : शेरबहादुर देउवा

होमल्याण्ड खबर

२०८३ श्रावण ३१ गते, आईतवार १५:१६ मा प्रकाशित

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताउनुभएको छ ।

उहाँले आफू अन्य कुनै पनि धर्म वा समुदायको विरोधी नभएको समेत स्पष्ट पार्नुभयो । आईतवार काठमाडौंमा सम्पन्न काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफू हिन्दु भएपनि कुनै धर्म विरोधी नभएको बताउनु भयो । सबैले आफ्नो धर्मको पहिचान खुलाउन पाउने बताउनुभयो ।

आफू हिन्दु धर्ममा पूर्ण विश्वास राख्ने बताउँदै देउवाले आफ्नो धार्मिक आस्थाका बारेमा पहिले पनि पटक–पटक स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो । उहाँले सबै धर्मको अस्तित्व र सम्मानलाई स्वीकार गर्दै आफ्नो व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो धार्मिक आस्थाका बारेमा थप प्रस्ट पार्दै देउवाले आफूले गुहेश्वरीमा हिन्दु ऋतिरिवाजअनुसार नै विवाह गरेको स्मरण गर्नुभयो । आफू पशुपतिनाथको भक्त भएको र त्यहाँ पूजा गर्ने इच्छा सधैँ रहने बताउनु भयो । देशको धार्मिक स्वरूप कस्तो हुने भन्ने निर्णय नेपाली जनताको हातमा रहेको उल्लेख गर्दै उहाँले धार्मिक स्वतन्त्रता अपरिहार्य रहेको बताउनु भयो । सो क्रममा उहाँले बुद्ध धर्मलाई वैज्ञानिक धर्मको रूपमा व्याख्या गर्दै यसप्रति आफ्नो उच्च श्रद्धा रहेको बताउनु भयो ।

देउवाले भन्नुभयो, ‘मैले गुह्येश्वरीमा हिन्दु विधिअनुसार विवाह गरेको हुँ । त्यसैले म व्यक्तिगत रूपमा पूर्ण रूपमा हिन्दु हुँ । कसैले मलाई हिन्दु होइन भन्न सक्दैन । नेपालमा कुन धर्म हुने वा नहुने भन्ने निर्णय नेपाली जनताको अधिकार हो। म धार्मिक स्वतन्त्रताको पक्षमा छु । तर नेपालीले हिन्दुलाई हिन्दु हुन पाउँदैन भन्न मिल्दैन । म हिन्दु हुँ र पशुपतिनाथमा पूजा गर्न चाहन्छु । बुद्धप्रति मेरो गहिरो श्रद्धा र सम्मान छ । बौद्ध धर्मलाई आज विश्वले सम्मानका साथ स्वीकार गरेको छ । त्यसैगरी राई, लिम्बु लगायतका समुदायको प्रकृतिप्रतिको आस्था र परम्परालाई पनि हामीले सम्मान गर्नुपर्छ । म सबै धर्म र संस्कृतिको सम्मान गर्छु । मैले तपाईंहरूबाट न्याय, माया र सद्भाव पाएको छु । त्यसलाई म कहिल्यै बिर्सने छैन । आगामी दिनमा पनि तपाईंहरूको माया र सद्भावलाई आत्मसात गर्दै अघि बढ्नेछु । मैले अघि नै भनिसकेको छु । म हिन्दु हुँ । तर म कुनैपनि धर्मको विरोधी होइन । न म क्रिश्चियनको विरोधी हुँ, न मुस्लिमको, न किराँत, राई, लिम्बु वा अन्य कुनै धर्म–समुदायको । नेपालमा सबै धर्मावलम्बीहरूलाई आफ्नो धर्म मान्ने अधिकार छ ।

मेरो भन्न खोजाइ यति मात्र हो कि म आफूलाई हिन्दु भन्न पाउनुपर्छ र आफ्नो धर्ममा विश्वास गर्न पाउनुपर्छ । क्रिश्चियनले आफूलाई क्रिश्चियन भन्न पाउँछ, मुस्लिमले आफूलाई मुस्लिम भन्न पाउँछ भने मैले पनि आफूलाई हिन्दु भन्न पाउनुपर्छ । यस विषयमा कुनै भ्रम नहोस् । टाढा–टाढाबाट दुःख र कष्ट सहेर यहाँ आउनुभएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूलाई परेको असुविधाका लागि क्षमाप्रार्थी छु । अब सर्वोच्च अदालतको निर्णयलाई हामी सम्मान गर्नेछौँ । निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटघाट हुने विश्वास दिलाउँदै सबैलाई धन्यवादसहित बिदा हुन्छु ।’ उहाँले सर्वोच्च अदालतमा पार्टीमाथिको विचाराधीन मुद्दाको प्रसङ्ग उल्लेख गर्दै अदालतको निर्णयलाई सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।