भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

होमल्याण्ड खबर

२०८३ भाद्र १ गते, सोमबार १५:२७ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो ।  तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपरान्ह नेपाल आइपुगेका हुन् । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवम् नेपालका लागि भारतका राजदूतको उपस्थिति रहेको थियो ।

कार्यक्रमअघि भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ। भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।