काठमाडौं महानगरले निकाल्यो ९२ निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे सूचना

होमल्याण्ड खबर

२०८३ भाद्र ७ गते, आईतवार १३:१९ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ । शिक्षा विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न सूचना जारी गरेको हो ।

चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति रद्दको कारबाही अगाडि बढाउने विभागको तयारी छ। सूचनामा भनिएको छ, ‘विभागको मिति २०८२/०९/०७ गते प्रकाशित सूचनामा उल्लिखित संस्थागत विद्यालयहरूमध्ये संलग्न विद्यालयहरूले विगतमा प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेका भए तापनि हाल यस कार्यालयबाट स्थलगत अनुगमन गर्दा सञ्चालनमा नरहेको पाइएकोले शिक्षा ऐन, २०२८ को दफा १६ (ख) तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम ती विद्यालयहरूको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ । यदि विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुनपर्ने कुनै कारण भए ३५ (पैंतीस) दिनभित्र आधार, कारण र प्रमाण सहित कागजात पेश गर्नुहुन शिक्षा समितिको मिति २०८३/०४/२८ गतेको बैठकको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ ।’

अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने संस्थागत विद्यालयहरूको विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइटमा राखिएको छ। महानगरपालिकाले दर्ता भएर कागजमा सीमित रहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाएको थियो ।