७ भाद्र २०८३, आईतवार
मलेसियाको फरन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम(एफडब्लुसिएमएस) अन्तर्गत नेपालबाट मलेसिया श्रमिक पठाउन सिमित २५ म्यानपावर संस्था छनोट गर्ने प्रक्रियाप्रति द रिभर ओभरसिज प्रालिका अध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार रघुनाथ पुरीले असहमति जनाएका छन्।
पुरीले नेपालबाट मलेसियामा श्रमिक पठाउने प्रक्रिया निश्चित संख्याका व्यवसायीमा मात्र सीमित गर्न नहुने बताएका छन्।


उनका अनुसार नेपाल सरकारबाट प्रचलित कानुन, नीति, मापदण्ड र प्रक्रिया पूरा गरेका सबै योग्य वैदेशिक रोजगार व्यवसायी संस्थाले समान र निष्पक्ष रूपमा मलेसियालगायत वैदेशिक रोजगार गन्तव्यमा नेपाली श्रमिक पठाउने अवसर पाउनुपर्छ।
‘सीमित संख्याका संस्थालाई मात्र छनोट गरेर अन्य योग्य व्यवसायीलाई अवसरबाट वञ्चित गर्ने व्यवस्था वैदेशिक रोजगार व्यवसायको स्वस्थ, पारदर्शी र प्रतिस्पर्धात्मक प्रणालीको हितमा हुन सक्दैन,’ पुरीले भनेका छन्।
उनले एफडब्लुसिएमए वा अन्य कुनै संयन्त्रका नाममा सीमित व्यवसायीलाई मात्र अवसर दिइएमा वैदेशिक रोजगार क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा र एकाधिकारको अवस्था सिर्जना हुन सक्ने तथा त्यसको प्रत्यक्ष असर नेपालबाट मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा पर्न सक्ने बताएका छन्।
मलेसिया नेपाली श्रमिकका लागि लामो समयदेखि महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्य रहेको उल्लेख गर्दै पुरीले हजारौँ नेपालीको रोजगारी र परिवारको जीविकोपार्जनसँग जोडिएको श्रम प्रक्रियालाई सीमित व्यवसायीको स्वार्थमा केन्द्रित गर्न नहुने बताए।
उनले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी संघलगायत सम्बन्धित सबै सरोकारवालालाई यस विषयमा गम्भीर अध्ययन गरी पारदर्शी, प्रतिस्पर्धात्मक र सबै योग्य व्यवसायीलाई समान अवसर सुनिश्चित हुने व्यवस्था गर्न आग्रह गरे।
‘व्यवसाय स्वस्थ हुनुपर्छ, प्रक्रिया पारदर्शी हुनुपर्छ, प्रतिस्पर्धा निष्पक्ष हुनुपर्छ र श्रमिकको हित सर्वोच्च हुनुपर्छ,’ पुरीले भने।
उनले नेपाल सरकारले निर्धारण गरेको कानुन, नीति र नियमको अधीनमा रही वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै मलेसियालगायत सबै वैदेशिक रोजगार गन्तव्यमा सरकारले तोकेको मापदण्ड पूरा गर्ने सबै योग्य व्यवसायी संस्थाले समान अवसर पाउनुपर्ने धारणा दोहोऱ्याए।