३ वर्षीय बालिका गरिमा घटना प्रकरण: आरोपित बालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक

होमल्याण्ड खबर

२०८३ भाद्र ८ गते, सोमबार ११:३० मा प्रकाशित

गरिमा चौधरी हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका १६ वर्षीय बालकसँग चिकित्सकले परामर्श गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। शव भेटिएकै दिन पक्राउ परेका बालकको उक्त भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा देखिन थालेको हो।

कलैया अस्पतालमा खिचिएको उक्त भिडियो कसले सार्वजनिक गर्‍यो भन्ने खुलेको छैन। उक्त भिडियो कलैया अस्पतालको लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) को रहेको बताइएको छ। लैङ्गिक हिंसासम्बन्धी घटनामा प्रहरीले स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि पीडित र पीडक दुवैलाई ओसीएमसी लैजाने गरेको छ।

ओसीएमसीको परामर्शका क्रममा चिकित्सकले बालकसँग घटनाका सन्दर्भमा गरिरहेको कुराकानी रेकर्ड गरेर सार्वजनिक गरिएको हो। भिडियोमा बालकले गरिमाको बलात्कारपछि हत्यामा आफू मात्र नभई प्रदीप खड्का भनिने व्यक्तिसमेत संलग्न रहेको उल्लेख गरेका छन्। यसअघि उनले घटना आफू एक्लैले गरेको बताएका थिए।

बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भिडियोको विषयमा बुझ्न बाँकी रहेको बताए। उनले भिडियो कसले सार्वजनिक गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। ‘भिडियो कलैया अस्पतालको जस्तो देखिन्छ, हामी बुझ्दै छौँ,’ प्रहरी उपरीक्षक कुँवरले भने।

कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डलले पनि भिडियो सार्वजनिक भएको विषयमा छानबिन सुरु गरिएको जानकारी दिए। ‘प्रहरीसँग पनि समन्वय भइरहेको छ, हामी पनि बुझिरहेका छौँ। हाम्रोतर्फबाट गल्ती भएको हो भने प्रहरीलाई सहयोग गर्नेछौँ,’ डा. मण्डलले भने। भिडियोका विषयमा बुझ्न अस्पतालमा आकस्मिक बैठक बोलाइएको उनले बताए।

भिडियोमा बालक, प्रहरी र अस्पतालका कर्मचारी देखिन्छन्। हातमा हतकडी लगाइएका बालकले घटनाका विषयमा चिकित्सकलाई जानकारी गराइरहेका छन्। त्यहाँ रहेका प्रहरी र अस्पतालका कर्मचारीले भिडियो खिचिरहेको देखिन्छ। ओसीएमसी कक्षमा प्रहरी र अस्पतालका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश अनुमति हुँदैन।

घटनाको गम्भीरता, गोपनीयता र अनुसन्धानमा पर्ने असरको ख्यालै नगरी भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकारीहरू समेत दबाबमा परेका छन्। जितपुरसिमरा-१ की तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या गरिएको घटनामा प्रहरीले शव भेटिएकै दिन जितपुरसिमरा-२ का ती बालकलाई पक्राउ गरेको थियो।

पक्राउ परेकै दिन सिमरास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछ गरी उनलाई स्वास्थ्य परीक्षणका लागि कलैया लगिएको थियो। उक्त घटनामा बालकसहित २४ वर्षीय प्रोग्रेस चौधरी र उनका परिवारका सदस्य प्रहरी नियन्त्रणमा छन्।