१० भाद्र २०८३, बुधबार
चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री बालेन शाहले कालो चस्मा अनिवार्य लगाउनुपरेको थाहा हुन आएको छ। संघीय संसद सचिवालयले प्रधानमन्त्री कार्यालयबाट रिपोर्टसहितको पत्र प्राप्त भएको जनाएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य प्रतिवेदन प्राप्त भएको बताए।
प्रधानमन्त्री शाहले केही समयअघि छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा आँखाको उपचार गराएका थिए। सो क्रममा चिकित्सकहरूले प्रधानमन्त्रीलाई ुसनग्लासुअनिवार्य लगाउन सुझाव दिएका थिए। सोही सल्लाहअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनु परेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्वास्थ्य रिपोर्ट संघीय संसद्मा पठाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।


प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई पठाएको पत्रमा चिकित्सकहरूको सल्लाह र सुझावको आधारमा प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपरेको उल्लेख छ। प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको आँखाको रिपोर्टसहित संसद् सचिवालयमा पत्र पठाएको हो।
सभामुख डोलप्रसाद अर्यालले संसद्मा उपस्थित हुँदा कालो चस्मा नलाउन सबै सांसदहरूलाई सम्बन्धित पार्टीका सचेतकमार्फत् जानकारी गराएका थिए।