तातोपानीपारिको झाङ्मु पोर्ट अनिश्चितकाललाई बन्द

होमल्याण्ड खबर

२०८३ भाद्र १६ गते, मंगलवार १३:५३ मा प्रकाशित

चीन सरकारले नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीपारि रहेको झाङ्मु पोर्ट अनिश्चितकालका निम्ति बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ । सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका अधिकृत तुलबहादुर पाण्डेलाई यो जानकारी दिएका हुन् ।

“हामीलाई उहाँहरूले छोटो इमेल गर्नुभएको छ,” पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेल उद्धृत गर्दै भने, “हामीले केही समयको लागि झाङ्मु पोर्ट बन्द गरेका छौँ, कहिले खोल्छौँ भन्ने जानकारी अर्को इमेलमा गराउनेछौँ भनिएको छ ।”

रसुवामा जस्तै तातोपानी नाका भएर बग्ने भोटेकोसी नदीमा पनि बाढी आउन सक्ने अनुमान गरेर चिनियाँ पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ ।

उनका अनुसार, रसुवाको बाढी र त्यसले पुर्‍याएको क्षतिलाई मध्यनजर गरी झाङ्मु पोर्टबाट भन्सार कार्य बन्द गर्नुको साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ ।

चिनियाँ पक्षले सेप्टेम्बर ३ तारिखसम्म खासामा निर्माण कार्य गर्नुपर्ने भन्दै केही दिनअघिदेखि कन्टेनर पठाउन रोक्ने निर्णय गरेको थियो । चिनियाँ पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ । नाका कहिलेदेखि पुनः सञ्चालन गरिने भन्नेबारे बताइएको छैन ।

रसुवागढीमा बाढीपश्चात् तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो । तातोपानी नाका समेत बन्द भएपछि नेपाल–चीन व्यापारको विकल्प साघुँरिएको छ । दसैँ र तिहार नजिकै आएको अवस्थामा यो निर्णयले नेपाललाई असर पर्ने यहाँका व्यवसायीको भनाइ छ ।

न्यालम काउन्टीमा रहेको झाङ्मु पोर्टवारिको तातोपानी नाकाबाट असार ३१ मा खसेको पहिरोका कारण दुई देशबीच आयात निर्यात हुन सकेको थिएन । अरनिको राजमार्गअन्तर्गतको बाह्रबिसे–कोदारीखण्डको २६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा पहिरोले बाटो बिग्रिएपछि नाकाबाट ढुवानी लगभग बन्दजस्तै थियो ।

सडक विभागले टोली खटाएर मर्मतको काम गरेपछि ४० दिनपश्चात् अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको थियो । त्यसपछि पछिल्लोपटक भदौ १२ गते तातोपानी नाकाबाट आठ कन्टेनर नेपाल भित्रिएका थिए ।

झाङ्मु पोर्ट बन्द गरिएपछि नेपाल भित्रने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन् । लामो समयदेखि कामविहीन भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारी समेत बिचल्लीमा परेका छन् ।

खासाभन्दा माथि न्यालम र थिङ्रीमा फलफूल बोकेका ६० कन्टेनर ४५ दिनदेखि अलपत्र छन् । ती फलफूल एसी कन्टेनरमा भएकाले सुरक्षित छन् । तर, लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण मूल्यवृद्धि हुने अवस्था रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताए ।

उनका अनुसार, ४० करोड रुपैयाँबराबरको फलफूल चिनियाँ क्षेत्रमा छ । दसैँ–तिहारलक्षित फलफूल आयातमा यसपटक धेरै समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । रासस