केरुङ नाकामा बाढी : चीनतर्फ २१ जनाको मृत्यु, ५४१ अझै बेपत्ता

होमल्याण्ड खबर

२०८३ भाद्र १८ गते, बिहीबार १०:५६ मा प्रकाशित

चीन-नेपाल सीमा क्षेत्रको केरुङ नाकामा खसेको लेदोसहितको भीषण पहिरो र बाढीमा परी चीनतर्फ मृत्यु हुनेको संख्या २१ पुगेको छ।

सो क्षेत्रमा ५४१ जना अझै बेपत्ता रहेको र उद्धारकर्ताहरूले मुख्य स्थलसम्म पुग्ने बाटो पन्छाएपछि खोजकार्य तीव्र पारेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रका अध्यक्ष कर्मा छिरिङले जिरोङमा आयोजित पत्रकार सम्मेलनमा उद्धारका लागि २ हजार ३०० भन्दा बढी उद्धारकर्मी परिचालन गरिएको जानकारी दिए।

गत भदौ १० मा नेपालतर्फको क्षेत्रबाट सुरु भएको लेदोसहितको बाढीले केरुङ नाकामा ठूलो जनधनको क्षति पुर्याएको थियो। पहिरोले सडक, बिजुली र सञ्चार सेवा पूर्ण रूपमा ठप्प पारेपछि मुख्य विपद् क्षेत्र सम्पर्कविहीन बनेको थियो। नाकातर्फ जाने मुख्य सडक राष्ट्रिय राजमार्ग जी२१६ को एक खण्ड पुन: सञ्चालनमा आएसँगै उद्धार टोलीले प्रभावित क्षेत्रमा ठूला मेसिनरी उपकरण लगेर बाक्लो लेदो र भग्नावशेषभित्र पुरिएकाहरूको खोजी कार्य बढाएका छन्।

छिरिङका अनुसार उद्धार कार्यका लागि ४०० भन्दा बढी गाडी र ८,००० भन्दा बढी उद्धार उपकरण परिचालन गरिएको छ। ड्रोनले करिब ८०० पटक उडान भरेका छन् भने मुख्य क्षेत्रमा ५.४३ मेट्रिक टन खाद्यान्न तथा उद्धार सामग्री हवाई मार्गबाट खसालिएको छ।

बाटो नखुल्दासम्म उद्धार टोलीहरू स्थल, जल र हवाई मार्गको सहारा लिएर प्रभावित क्षेत्रमा पुगेका थिए। केही टोली डुङ्गामार्फत जलमार्ग भएर तथा केही टोली करिब १२ घण्टा कठिन पैदल यात्रा गर्दै पुगेका हुन्। यस क्रममा हेलिकप्टरले २४ पटक उडान भरेर उद्धारकर्ता र सामग्री ओसारपसार गरेका थिए।

प्रभावित क्षेत्रमा १२ वटा मोबाइल बेस स्टेशन पुन: सञ्चालनमा ल्याइएको छ भने बिजुली र लाइटिङ उपकरण जडान गरी सञ्चार व्यवस्था सुधार गरिएको छ। विपद्पछि उद्धार टोलीहरूले करिब १५ लाख ९० हजार वर्गमिटर क्षेत्रफलमा दोहोर्याएर खोजी गरिसकेका छन्। हाल मुख्य क्षेत्रमा १० भन्दा बढी ठूला मेसिन प्रवेश गरेपछि माथिल्लो सतहको खोजीसँगै गहिरो खनेर खोज्ने काम सुरु भएको छ।

सिजाङ क्षेत्रीय सरकारका कार्यकारी उपाध्यक्ष रेन वेईले लेदोको तह औसत ४ मिटर र केही स्थानमा १६ मिटरसम्म गहिरो रहेकाले गहिरो भागमा खोजी केन्द्रित गरिएको बताए। सतहमा ठूला चट्टान र बाक्लो हिलो भरिएकाले मुनि के छ भन्न गाह्रो भइरहेको उनको भनाइ छ।

उद्धार टोलीले प्रभावित क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी विशेष उपकरणमार्फत खोजी गरिरहेका छन्। पार्किङ स्थल, संयुक्त निरीक्षण भवन र बसोबासका भवनहरू जस्ता मानिसहरू थुनिएको हुन सक्ने सम्भावित स्थानलाई प्राथमिकता दिइएको छ।

चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले ठुला उपकरण उपलब्ध भएसँगै आग्नि नियन्त्रक तथा उद्धार टोलीले आफ्नो रणनीति परिवर्तन गरेको जनाएको छ। एक्स्क्याभेटरको प्रयोग गरी ठूला भग्नावशेष हटाइँदै छ भने विशेष टोलीहरूले जीवन पत्ता लगाउने उपकरण (लाइफ डिटेक्टर) मार्फत लक्षित स्थानमा खोजी गरिरहेका छन्।

पुरिएका भवन, नदी किनार, खोल्सा र सडकका क्षतिग्रस्त खण्डहरूमा तालिमप्राप्त कुकुर र उपकरणसहित खोजी भइरहेको छ। उद्धार टोलीहरूबीच समन्वय बढाउन ग्यिरोङ नाकाबाट करिब १.५ किलोमिटर टाढा अग्रिम कमाण्ड पोस्ट स्थापना गरिएको छ।

सञ्चार सेवा अवरुद्ध हुँदा कमाण्डरहरूलाई टोलीको स्थिति ट्र्याक गर्न र वास्तविक समयमा चेतावनी दिन कठिन भएको थियो। उपत्यकामा आउने कुहिरो, वर्षा र तीव्र हावाका कारण ड्रोन उडान र हवाई आपूर्ति बेलाबेलामा प्रभावित हुने गरेको छ। पहिरोले भूभाग नै पूर्ण रूपमा परिवर्तन गरिदिएकाले हराएका मानिसहरूको स्थिति पत्ता लगाउन थप जटिलता थपिएको छ।

क्षेत्रमा पुन: पहिरो वा विपद्को जोखिम अझै उच्च रहेको बताइएको छ। चीन मौसम विज्ञान प्रशासनका अनुसार ग्यिरोङमा आगामी तीन दिनसम्म थप वर्षा हुने अनुमान गरिएको छ।

आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार ३९ जना सम्मिलित तीनवटा राष्ट्रिय आपत्कालीन उद्धार टोलीले संयुक्त अनुगमन समूह बनाएका छन्। ती टोलीहरूले पहिरो गएका क्षेत्र, थुनिएका ताल र अस्थिर भिरहरूको १२० घण्टाभन्दा बढी अनुगमन गरी २,७०० भन्दा बढी तथ्याङ्क सङ्कलन गरिसकेका छन्।

वरपरका पहाड, खोल्सा र लेदो जमेका ठाउँहरूमा रकफल रडार र स्लोप रडार मार्फत चौबीसै घण्टा निगरानी भइरहेको छ। मौसम विज्ञान अधिकारीहरूले प्रत्येक छ घण्टामा विस्तृत मौसम पूर्वानुमान उपलब्ध गराइरहेका छन्।

उद्धारकर्ताहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ। टोलीहरू रातिको समयमा तल्लो उपत्यका क्षेत्रबाट पछि हट्ने र डोरीको सुरक्षासहित समूहमा काम गरिरहेका छन्। अनुगमन प्रणालीले खतराको संकेत गर्ने बित्तिकै उद्धारकर्ताहरूलाई तुरुन्तै सुरक्षित स्थानमा जान भनिएको छ।