९ मंसिर २०८१, आईतवार
एजेन्सी । स्पेनिस कोपा डेल रेअन्तर्गत आज राती लेभान्टेविरुद्ध हुने अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाका लियोनेल मेसी र लुइस स्वारेज नखेल्ने भएका छन् ।
लगातार चार पटक उपाधि जितेको बार्सिलोनाले यो खेलका लागि आज राती सिउटाट डी भ्यालेन्सियाको भ्रमण गर्दैछ । तर प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले मेसी र स्वारेजलाई टिममा नराखेपछि टोलीको आक्रमणका मुख्य दुई स्टारलाई समर्थकले मैदानमा देख्ने छैनन् ।
गेटाफेमाथि मेसी र स्वारेजको गोलमा २–१ को जित हासिल गर्दा अनपेक्षित वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जेसन मुरिल्लोलाई भाल्भेर्डेले टिममा राखेका छन् । मुरिल्लोलाई बार्सिलोनाले भ्यालेन्सियाबाट लोनमा ल्याएको हो ।
भाल्भेर्डेले यसै सिजनको अन्त्यमा क्लबसँगको सम्झौता सकिने स्ट्राइकर मुनिर अल हाडाडीलाई पनि टिममा राखेका छ्रैनन् । खेलअघिको पत्रकार सम्मेलनमा भाल्भेर्डेले मिडफिल्डर आर्टुरो भिडाललाई बढि जिम्मेवारीपूर्ण भूमिकाका साथ मैदान उतार्ने संकेत गरेका थिए ।
हाडाडीलाई यही जनवरी सरुवा बजारमा बेच्ने सोचमा रहेका भाल्भेर्डेले नयाँ स्ट्राइकर किन्ने योजना पनि बनाइरहेका छन् । मेसी र स्वारेजबाट भने ला लिगा तथा च्याम्पियन्स लिगका लागि बढि आशा गरिएकाले आराम दिइएको बताइएको छ ।