९ मंसिर २०८१, आईतवार
राजस्व बुझ्ने सबै शाखा र क्लियरिङ हाउस खोल्न राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भोलि शनिबार पनि पूरै दिन कार्यालय खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शनिबार राजस्व जम्मा गर्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका सबै शाखा–काउन्टर तथा नेपाल क्लियरिङ हाउस पनि खोल्न निर्देशन दिएको हो ।
मुलुकको केन्द्रीय बैंकले अर्थ मन्त्रालयको अनुरोधअनुसार बैंक शाखा र क्लियरिङ हाउस खोल्न निर्देशन दिएको हो । “अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन शाखाको अनुरोध भएकाले पुस २८ गते शनिबार सार्वजनिक बिदाको दिन पनि राजस्व बुझ्ने बैंकका सबै शाखा खुला गरी नियमित रूपमा राजस्व व्यवस्था मिलाउनु हुन र राजस्व दाखिलाका चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत सदा झैं खुला गर्ने व्यवस्था गर्न सूचना जारी गरिएको छ,” शुक्रबार जारी राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।
पुस मसान्तमा कर तिर्ने समय भएकाले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । यसअघि पनि राष्ट्र बैंकले त्रैमासको अन्तिम समयमा यस्तै निर्देशन दिँदै आएको थियो ।