९ मंसिर २०८१, आईतवार
बंगलादेशमा भइरहेको बंगलादेश प्रिमियर लिग बिपिएलमा नेपाली युवा खेलाडी सन्दीप लामिछानेले लगातार खराव प्रदर्शन गरेका छन् । पहिलो खेलमा २ विकेट लिएर उत्कृष्ट सुरुवात गरेका सन्दीपले त्यसपछिका दुई खेलमा विकेट लिन सकेका छैनन् ।
सिलेट सिक्सर्सबाट खेल्दै आएका सन्दीपले शनिबारको खेलमा ढाका डायनामाइट्स विरुद्ध पनि विकेट लिन सकेनन् ।
सन्दीपले ढाका विरुद्ध ४ ओभरमा ३३ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । खेलमा सिलेट ३२ रनले पराजित भयो । ढाकाले १७३ रन बनाएको थियो ७ विकेटको नोक्सानीमा । सिलेटले ९ विकेटको नोक्सानीमा १४१ रन मात्र बनायो । सन्दीपले ४ बलमा १ रन जोडेर एलबीडब्ल्यू शिकार भए ।
यसअघिको खेलमा चटगाउँ भाइकिंग्सविरुद्धको खेलमा पनि सन्दीप विकेटविहीन बनेका थिए । उनले धारिलो बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चिदा कुनै विकेट भने लिन सकेका थिएनन् । यसअघि सन्दीपले कोमिल्ला भिक्टोरिएन्स विरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए ।
अष्ट्रेलियाको बिग बास खेलमा भने सन्दीपले खेलेका चार वटै खेलमा विकेट लिएका थिए । संयोग उनले हरेक खेलमा विपक्षी टिमका कप्तानको विकेट लिन सफल भएका थिए ।
बिपिएलमा लगातार विकेटविहीन हुँदा भने उनको आगामी खेलमा असर पर्ने देखिन्छ । सिलेटले ३ खेलमा २ हार खाइसकेको छ ।