आर्सनलका गोलकिपर पिटर चेकको सन्यास

होमल्याण्ड खबर

२०७५ माघ २ गते, बुधबार १२:१७ मा प्रकाशित

एजेन्सी । आर्सनलका गोलकिपर पिटर चेकले यो सिजनको अन्त्यपछि खेलाडी जीवनबाट सन्यास लिने भएका छन् । चेल्सीबाट २०१५ मा आर्सनलसँग अनुबन्धित भएका ३६ वर्षे चेकले २० वर्षे खेलाडी जीवन टुंग्याउन लागेका हुन् । चेकले चेल्सीमा ११ वर्ष बिताएका थिए ।

“प्रीमियर लिगमा १५ वर्ष बिताउँदा मैले सबै उपाधि जितें । अब यो दौडबाट बाहिरिने निर्णय गरेको छु,” चेक रिपब्लिकका गोलकिपर चेकले भने, “मैले आर्सनलमा कडा मिहिनेत गरिराखेको छु । आशा छ यो सिजन आर्सनलबाट थप एक उपाधि जित्ने आशा गरेको छु ।”

२००६ अक्टोबरमा रिडिङका स्टेफन हन्टसँग ठोक्किँदा टाउको चोट लागेपछि चेकको शल्यक्रिया गर्नुपरेको थियो । त्यसपछि उनी खेलमा फर्किन सक्छन् कि सक्दैनन् भन्नेमा शंका थियो । ३ महिना मैदानबाहिर रहेका चेकले त्यसपछि टाउकोको सुरक्षाका लागि खेल्ने बेला नियमित मास्क लगाउँदै आएका छन् ।
“व्यावसायिक खेलाडीका रूपमा यो मेरो २०औं वर्ष हो । त्यसैले सन्यासका लागि यो उपयुक्त समय हो भन्ने मलाई लागेको छ,” आर्सनलका प्रशिक्षक चेकले भने।

चेक २००४ मा फ्रान्सको रेनर्स क्लबबाट चेल्सीसँग सम्झौता गरेपछि इङ्ल्यान्ड आएका थिए । चेकले स्टामफोर्ड ब्रीजमा १ च्याम्पियन्स लिग र २ प्रीमियर लिगसहित १३ उपाधि जितेका छन् । उनले क्लबमा कीर्तिमानी २ सय २८ क्लिनशिट गरेका छन् । बेल्जियमका गोलकिपर थिबाउट कोर्तुवा आएपछि चेल्सीको टोलीमा स्थान पाउन छाडेका थिए । त्यसपछि आर्सनल गएका चेकले इमिरेट्समा २०१७ मा एफए कपको उपाधि जितेका थिए।

“चेकले आफ्नो निर्णय हामीलाई सुनाएका छन् । यसले हामीलाई दुःखी बनाएको छ, आर्सनलले भनेको छ,” उनको प्रेरणादायी करियरका लागि धन्यवाद ।”

चेल्सीले ‘च्याम्पियन मैदान बाहिर’ भनेर लेखेको छ ।