३० कार्तिक २०८१, शुक्रबार
विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन स्विट्जरल्यान्ड डाभोस गएका प्रधानमन्त्री केपी ओली बुधबार प्रजातन्त्रको भविष्य निर्धारण (सेपिङ द फ्युचर अफ डेमोक्रेसी) शीर्षकको सेसनमा सहभागी भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, सेसनमा कोलम्बियाका राष्ट्रपति इभान डुके, अर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यान, न्युयोर्क टाइम्सका प्रकाशक आर्थर ग्रग सुल्जबर्गर र लिडरसिप नाउ प्रोजेक्टकी प्रमुख कार्यकारी अधिकृत डानियला बालोउ–आरेसले छलफल गरेका थिए ।
सेसनको सहजीकरण फाइनान्सियल टाइम्सका प्रमुख आर्थिक टिप्पणीकार मार्टिन उल्फले गरेका थिए ।
उल्फले १४–१५ वर्षदेखि प्रजातन्त्र मन्दीमा रहेको विज्ञहरूले बताउने गरेको उदाहरण दिएर कार्यक्रम सुरु गरे ।
विकासशील मुलुकहरू प्रजातन्त्रतर्फ गएसँगै सन् १९८० देखि प्रजातान्त्रिक प्रणाली विस्तार हुँदै गएको र सन् २००६ मा उत्कर्षमा पुगेको निष्कर्ष उनले सुनाए ।
तर, त्यसपछिको समयमा अमेरिकालगायत विश्वका धेरै देशमा प्रजातान्त्रिक मूल्य–मान्यतामा क्षयीकरण हुँदै गएको र यो प्रणालीमा आक्रमण भइरहेको बताएर प्रश्न सुरु गरेका थिए । पहिलो प्रश्न अर्मेनियाका प्रधानमन्त्रीलाई थियो भने दोस्रो प्रश्न केपी ओलीलाई थियो ।