टि–२० विश्वकप २०२० को तालिका सार्वजनिक, यस्तो छ नेपालको विश्वकप पुग्ने बाटो

होमल्याण्ड खबर

२०७५ माघ १५ गते, मंगलवार १४:२८ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले २०२० टि–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको तालिकाअनुसार विश्वकपका खेल २०२० को अक्टोबर १८ देखि सुरु हुनेछन् । तालिका सार्वजनिक भए पनि विश्वकप खेल्ने सबै टिम निश्चित भइसकेका छैनन् । विश्वकप सुरु हुनुभन्दा अगाडि हुने क्वालिफायरबाट बाँकी टिम निश्चित हुनेछन् ।

विश्वकपमा कूल १६ टिम खेल्न पाउनेछन् । तीमध्ये ८ टिम सिधै सुपर १२ मा छनोट भइसकेका छन् । आइसीसी टि–२० आइ च्याम्पियनशिपबाट शीर्ष ८ स्थानमा रहेका पाकिस्तान, भारत, इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तान सिधै सुपर १२ मा पुगिसकेका छन् । यसबाहेक बंगलादेश र श्रीलंका विश्वकपको समूह चरणमा छनोट भएका छन् । बाँकी रहेका ६ टिम छनोट खेलेर विश्वकपको समूह चरणसम्म पुग्नेछन् ।

विश्वकप छनोट खेल्नका लागि स्कटल्याण्ड, जिम्बाब्बे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड छनोट भइसकेका छन् । नेपालले भने अब हुने अर्को क्षेत्रीय चरणको प्रतियोगिता पार गर्दै विश्वकप छनोटमा पुग्नुपर्नेछ । विश्वकप छनोटमा कूल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । यीमध्ये ६ टिम स्कटल्याण्ड, जिम्बाब्बे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड आइसीसी टि–२० आइ च्याम्पियनशिपबाट छनोट भइसकेको अवस्थामा बाँकी ८ टिममध्येमा एक टिम बन्दै नेपाल विश्वकप छनोटसम्म पुग्नुपर्नेछ । विश्वकप छनोटमा आइसीसी टि–२० आइ च्याम्पियनशिपबाट ६ टिमसँगै एशियाबाट २, अफ्रिकाबाट २, अमेरिकाबाट २, इष्ट एशिया प्यासिफिकबाट १ र युरोपबाट एक टिमले स्थान पाउनेछन् । एशियाका २ टिममध्ये एक बन्दै विश्वकप छनोटसम्म पुग्ने नेपालको बाटो हो ।

एशियाबाट छनोट हुने २ टिममध्ये १ बन्नको लागि नेपालले आगामी क्षेत्रीय प्रतियोगितामा कम्तीमा दोस्रो हुनुपर्नेछ । यो प्रतियोगिताको मिति तोकिइसकेको छैन । यो प्रतियोगितामा नेपालसँगै युएइ, सिंगापुर, कतार, मलेसिया र कुवेत छन् । यो प्रतियोगितामा कम्तीमा दोस्रो भएमा नेपाल विश्वकप छनोटसम्म पुग्नेछ । विश्वकप छनोटमा कूल १४ टिम हुनेछन् । यीमध्ये ८ टिम बाहिरिनेछन् र ६ टिमले मात्र विश्वकपको समूह चरणमा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा शीर्ष ६ मा रहन सकेमा नेपालले विश्वकपको समूह चरणमा प्रवेश पाउनेछ ।

विश्वकपको समूह चरणमा श्रीलंका र बंगलादेश पहिल्यै छन् । यदि विश्वकपको समूह चरणमा प्रवेश पाएमा नेपाल यी दुईसहित बाँकी टिमसँग खेल्नुपर्नेछ । विश्वकपको समूह चरणमा कूल ८ टिम हुनेछन् । तीमध्ये ४ टिम सुपर १२ मा पुग्नेछन् भने ४ टिम समूह चरणबाटै बाहिरिनेछन् । विश्वकपको समूह चरण पार गर्ने ४ टिमले त्यसपछि सिधै सुपर १२ मा पुगेका पाकिस्तान, भारत, इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तानसँग खेल्न पाउनेछन् ।

सुपर १२ को पहिलो खेल २०२० को अक्टोबर २४ मा हुनेछ । सुपर १२ को पहिलो खेलमा अस्ट्रेलिया र पाकिस्तान भिड्नेछन् । सुपर १२ को अन्तिम खेल ८ नोभेम्बरमा भारत र अफगानिस्तानबीच हुनेछ । सुपर १२ बाट शीर्ष ४ टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल ११ र १२ नोभेम्बरमा हुनेछ । दुवै सेमिफाइनलका विजेताहरु १५ नोभेम्बरमा उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल जित्ने टिम २०२० टि–२० विश्वकप च्याम्पियन बन्नेछ ।