राष्ट्रियसभाबाट पनि चिकित्सा शिक्षा विधेयक २०७५ पारित

होमल्याण्ड खबर

२०७५ माघ १७ गते, बिहीबार १६:०७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले कांग्रेसका सदस्यले उठेर विरोध जनाइरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरेको हो ।

अनसनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । बैठकको सुरुमै सभाअध्यक्षको अनुमति लिएर बोलेका सांसद जितेन्द्र नारायण देवले डा. केसीसँगको सहमति कार्यान्वयन नभएसम्म सदनको कारवाही अघि नबढाउन माग गरेका थिए ।

सरकार आफैले गरेको सम्झौता कार्यान्वयन नहँुदा जनतामा नकारात्मक सन्देश जाने भएकाले आफैले गरेको सहमति, सम्झौता पालनामा नैतिकता देखाउन उनले सरकारको ध्यानाकर्षण गराएका थिए । डा. केसीको माग सम्बोधन नभए मुलुकमा राजनीतिक दुर्घटना हुन सक्ने खतरा रहेको भन्दै नेता देवले परिस्थितिलाई गंम्भीर ढंगले बुझ्न र वार्ता टोली गठन गरेर समस्याको निकास निकाल्न र त्यसको नेतृत्व प्रधानमन्त्रीले आफैले गर्न पनि माग गरेका थिए ।

सम्झौता कार्यान्वयन नभएको भन्दै केसी फेरि अनसन बस्नुपर्ने अवस्था सिर्जना हुनुले कुनै विद्रोही पक्ष र कुनै क्रान्तिकारी वा राजनीतिक शक्तिसँग गरेको सम्झौता लागू गर्ने कि नगर्ने भन्ने वैचारिक एवं सैद्धान्तिक प्रश्न नेपाली राजनीतिमा बारम्बार दोहोरिने गरेको उनले बताए ।

शिक्षा प्रणालीभित्र नयाँ मूल्य र मान्यताको प्रतीकका रुपमा डा. केसी उभिएको भन्दै देवले सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । आफैले गरेको सहमति कार्यान्वयनबाट सरकार किन पछि हटेको भन्दै उनले प्रश्न गरे, ‘‘के गोविन्द केसी कांग्रेस हो ?’’

विधेयकमाथि सांसदहरु वृषेशचन्द्र लाल, सरिता प्रसाई र राधेश्याम अधिकारीले संशोधन प्रस्ताव दर्ता गराएका थिए । कांग्रेसले विरोध जनाइरहेकाले सासदहरु प्रसाई र अधिकारी प्रक्रियामा सहभागी भने भएनन् ।