१० मंसिर २०८१, सोमबार
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ ।
शनिबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै भ्यालेन्सियाका लागि केभिन गामिरो र डानी परेजोले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा गामिरोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा परेजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई २–० को अग्रता दिलाए । ३९ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै खेल २–१ को पुर्याए ।
त्यसपछि ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरी गर्न सफल भए ।
बराबरीसँगै लिग लिडर बार्सिलोनाले २२ खेलबाट ५० अंक जोडेको छ । भ्यालेन्सियाको ३० अंक छ ।
ला लिगा अन्तर्गत नै शनिबार राति सेल्टा भिगोले सेभियालाई १–० ले पराजित गरेको छ । यस्तै एथ्लेटिको बिल्बाओलाई रियल सोसीडाडले २–१ ले पराजित गर्दा लेभान्टे र गेटाफेले गोलरहित बराबरी खेलेका छन् ।