३० कार्तिक २०८१, शुक्रबार
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
दुवै सदनको बैठकमा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज भने अवरोध गर्ने–नगर्ने भन्ने बारेमा कुनै धारणा तय गरिसकेको छैन । संसद बैठकमा खेलिने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले आज दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ ।
दलको बैठकमा विगतको भूमिकाका विषयमा समीक्षा गरेर संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीका बारेमा छलफल गरेर एजेण्डा तय गरिने सचेतक पुष्पा भुसालले जानकारी दिइन् । ‘‘संसद् बैठकमा अवरोध गर्ने–नगर्ने भन्ने विषयमा अहिले केही निर्णय भएको छैन,’’ उनले बाह्रखरीसँग भनिन्, ‘‘विगतको समीक्षा गरेर संसद्मा आउने कार्यसूची बारे छलफल गर्ने, एजेण्डाहरु उठाउने आदि विषयमा दलको बैठक बसेर निर्णय गर्छ ।’’
यद्यपि डा. गोविन्द केसीको अनशन अन्त्य भएको र सरकारले कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरिसकेकाले कांग्रेसले संसद बैठकमा अवरोध नगर्ने सम्भावना देखिएको छ । यसअघि कांग्रेसले डा. गोविन्द केसीको माग सुनुवाई गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै पटक–पटक संसद् बैठक अवरोध गर्दै आएको थियो ।