१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसारलाई नेपालले आश्चर्यचकित बनाएको बताएको सन्दर्भ उल्लेख गर्दै अब विपक्षी कांग्रेसले सरकारलाई आश्चर्यचकित बनाउने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले हालै विपक्षीको अवरोधका बाबजुद चिकित्सा विधेयक पास गरिएको घटना आफूहरुले नबिर्सने बताए । अब कांग्रेसले संसद् र सडकबाट सरकारलाई आश्चर्यचकित बनाइदिने चेतावनी समेत उनले बैठकबाट दिएका छन् ।
आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई सरकारले ‘देखाइदिएको’ मा व्यंग्य गर्दै उनले सरकार र सत्तारुढ पार्टीलाई बधाई दिएका थिए । उनले चिकित्सा शिक्षा विधेयक पास गरिए पनि सत्तापक्षको स्वार्थ पूरा हुन नदिने बताए । उनले विधेयक पास भएपछि लोकमान सिंह कार्की र मेडिकल कलेजवालाहरु खुसी हुने अवस्था आएको बताएका थिए ।
उनले दुई तिहाईको प्रयोग डा. गोविन्द केसीको विरुद्धमा भएपनि जनताको पक्षमा भने नभएको जनाए । प्रधानमन्त्रीले छल र वितण्डतावादी शैली अपनाएको भन्दै उनले आलोचना गरे ।
प्रधानमन्त्रीले आफूले भ्रष्टाचारीको अनुहार नहेर्ने बताएको सन्दर्भ उल्लेख गर्दै थापाले अब प्रम ओलीले ऐना हेर्न पनि बन्द गर्नुपर्ने हो कि भनेर व्यंग्य गरे । उनले प्रतिपक्षी जिम्मेवार भएकोले अब संसद अवरुद्ध नगर्ने बताए । थापाले भेनेजुएला प्रकरणमा बोलेर सरकारले अनावश्यक काम गरेको टिप्पणी गरे ।