१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णय बमोजिम आज देशैभर विरोध कार्यक्रम हुने भएको हो ।
पछिल्लो समय सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको तथा सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै कांग्रेसले शक्ति प्रदर्शन गर्ने बताएको छ ।
खास गरी कांग्रेसले सरकारको अधिनायकवाद, संसदीय सर्वोच्चता, भ्रष्टाचार, संसदीय मर्यादा पालन, हत्याहिंसा, वाइडबडी भ्रष्टाचार, निर्मला पन्त र डा गोविन्द केसीसंग भएका सम्झौता तथा कारबाही, मुल्यवृद्धि, सुनकाण्ड लगायतका कुराहरूको बारेमा प्रदर्शन गर्ने भएको छ ।
आजको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ, उपसभापति विमलेन्द्र निधि धनुषा, महामन्त्री डा. शशाङ्क कोइरालाले नवलपुर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा, केन्द्रीय सदस्य डा. शेखर कोइराला, गगन थापा पोखरा, पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन् ।
पछिल्लो समय कांग्रेस भातृ संघहरु नेविसंघ, तरुण दल तथा महिला संघहरुले आन्दोलनका कार्यक्रमहरु चर्काउदै लगेका छन् ।