१२ मंसिर २०८१, बुधबार
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कडाइ गरेपछि विदेशमा बस्ने नेपालीहरुले विरोध गरेका छन् । उनीहरुले भन्सारमा भइरहेको ‘ज्यादति’ भइरहेको आरोप लगाउँदै त्यसलाई रोक्न सरकारसँग माग गरेका छन् ।
सरकारले झिटिगुन्टा आदेशको पालना नगरी ल्याइएका सामान विमानस्थलमा जफत गर्ने क्रम तीव्र पारेपछि विदेशमा बस्ने नेपालीले समाजिक सञ्जालमा ब्यापक आलोचना गरेका हुन् ।
सरकारले सोमबारमात्रै विदेशबाट आएका नेपालीबाट जफत भएको विभिन्न समानहरु २ करोडभन्दा बढी मूल्यमा लिलामीका लागि सूचना निकालेको छ । विदेशमा कार्यरत नेपाली कामदारहरुले सरकारी व्यवस्था व्यवहारिक नभएको भन्दै सरकारलाई झिटिगुन्टा आदेशलाई सच्याउन माग गरेका छन् ।
साउदीबाट सन्देश ताम्राकारले लेखेका छन्,’३३ किलो सुनको अत्तो पत्तो छैन, तर हामी गरिबले खुन पसिना एक गरेर कमाएको पैसाले आफ्नो परिवारलाई एउटा मोबाइल र अलिकति सुन ल्याउँदा पनि खोसेर एसरी लिलामीमा राख्ने ? जसको दुःख र पसिनाको कमाई थियो नि, पक्कै पनि उनिहरूको आँशु चै लाग्ने छ ।’
कतिपयले सरकारको यो कामलाई रेमिट्यान्स पठाउने नेपाली माथिको अपमान भनेका छन् । धेरैले घरपरिवार र साथिभाइका लागि ल्याइने थोरै उपहारहरुलाई खुला गर्न माग गरेका छन् । विशेषगरी रक्सी र मोबाइल ल्याउन कडाइ गरिएको धेरैको आपत्ति छ ।
‘बरु विदेशबाट आफ्नो जन्मथलो आउने नेपालीहरुबाट विदेशी पैसा चन्दा माग सरकार, आफ्नो परिवारलाई भनेर ल्याइएको एक बोतल रक्सी र एउटा मोबाइल छापामार शैलीमा नखोस,’ इटालीबाट एन के निर्दोषले लेखेका छन् ।