बी डिभिजन लिग आजदेखि

होमल्याण्ड खबर

२०७५ माघ २५ गते, शुक्रबार १०:३८ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

यसअघि आयोजना गरिएको ए डिभिजन लिग जस्तै बी डिभिजनमा पनि घटुवा र बढुवा हुने छैन ।

आज पहिलो दिन दुई खेल हुनेछ । उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच दिउँसो १२ बजे हुनेछ ।

यस्तै आजै दोस्रो खेल टुसाल युथ क्लब र श्री भगवतीबीच दिउँसो साँढे ३ बजे हुनेछ ।

प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

फागुन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ टोली छन् । सहभागि टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।

समुहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष ४ टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिनेछ ।

समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नया बस्ती युवा क्लब र ब्वाईज् युनियन क्लब रहेका छन् ।

यस्तै समुह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने तेस्रो र चौथो स्थान हासिल गर्नेले क्रमशः ३ लाख र २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । दुवै समूहको पुछारमा रहने टोलीले अर्को सिजन १ अंक गुमाउनेछन् ।

एन्फाले यस पटक बी डिभिजन क्लबलाई तयारी स्वरुप ७ लाख दिएको थियो । प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रुपैयाँ रहेको छ ।