नेकपाको अपरान्ह कार्यदल बैठक बस्दै

होमल्याण्ड खबर

२०७५ माघ २५ गते, शुक्रबार १२:४२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलको बैठक शुक्रबार अपरान्ह बस्दैछ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे काठमाडौं जिल्ला समन्वय समितिको हल सिंहदरबार दक्षिणढोकाको कार्यक्रम सकाएपछि अपरान्ह बैठक बस्ने भएको हो ।

यो बैठकमा कार्यदलले अहिलेसम्म गरेका प्रगतिहरुको विवरण सार्वजनिक गर्न लागेको बुझिएको छ । नेकपाको सचिवालयले हालसम्म भएका प्रगति विवरण बुझाउन बुधबारकै लागि निर्देशन दिएको थियो ।

तर कार्यदलका सदस्यहरु आपसमा टकरावमा उत्रिएपछि प्रतिवेदन बुझाउन सकेका थिएनन् । त्यसपछि भने तुलनात्मक रुपमा कार्यदल तातेको बुझिन्छ । कार्यदलले जे जस्तो परिणाम निस्के पनि एउटा प्रतिवेदन भने बुझाउने योजना बनाएको बुझिन्छ ।

तर कार्यदलका सदस्यहरु नै आपसमा भिड्न लागेको बुझिन्छ । उनीहरुबीच मुख्य कुनै पनि बुँदामा सहमति हुन सकेको छैन । एमाले र माओवादीको संगम गर्न महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल रहेको कार्यदल बनाइएको थियो ।

बैठकमा अहिलेसम्म भएका कामको समीक्षा गरी सदस्यहरुबीच देखिएका विवाद समाधान गर्ने प्रयास गरिने बताइएको छ ।

त्यसो त कार्यदल बैठक बिहीबार पनि बसेको थियो । तर बैठकमा सदस्यबीच नै प्रतिवेदन बुझाउने विषयमा विवाद भएको थियो । संयोजक बादलले अहिलेसम्मको प्रगति समेटेर प्रतिवेदन बुझाउने प्रस्ताव गरेका थिए भने अन्य सदस्यले सहमति भएका र सहमति हुन बाँकी विषय छुट्याएर मात्र प्रतिवेदन बनाउनुपर्ने बताएका थिए ।

पूर्ण रुपले एकता नहुँदा अलमलमा परेको पार्टीले एकताको बाँकी काम सक्ने विधि, प्रक्रिया र आधार तय गर्न पुस १३ गते ९ सदस्यीय कार्यदल बनाइएको थियो ।

तर त्यही कार्यदलभित्रै राजनीति छचल्किएपछि निष्कर्षमा पुग्न सकेको छैन ।