१० मंसिर २०८१, सोमबार
एजेन्सी । क्रिस्टल प्यालेसका विंगर विल्फ्रिड जाहाले साउथह्याम्पटनविरुद्धको खेलमा गरेको खराब व्यवहारका कारण थप एक खेलको प्रतिबन्ध तथा १० हजार पाउन्ड जरिवाना तिर्नुपर्ने भएको छ ।
आइभोरी कोस्टका २६ वर्षे अन्तर्राष्ट्रिय खेलाडी जाहाले सेन्ट मेरिजमा सम्पन्न खेलको दौरान पहेलो कार्ड सामना गरेपछि रेफ्रीलाई गलत निर्णय गरेको आसयमा खिल्ली उडाउँदै ताली बजाएका थिए । जुन घटनामा रेफ्री आन्द्रे मारिनेरले तत्काल उनलाई रातो कार्ड दर्शन गराएका थिए ।
इङल्यान्ड फुटबल संघअन्तर्गतको अनुसासन समितिले थप अध्ययन गर्ने क्रममा जाहाको व्यवहार खेल भावनाविपरित ठहर गर्दै उनलाई थप एक खेलमा प्रतिबन्ध लगाउनाका साथै नगद जरिवाना गर्ने निर्णय लिएको थियो ।
जाहा स्वयम्ले पनि आफूबाट गलत व्यवहार भएको स्विकार गरिसकेका छन् । तथापि आफूमाथिको कार्वाहीविरुद्ध उनले अपिल गर्न पाउने छन् । अपिल गर्ने समय रहेसम्म उनीविरुद्धको कार्वाही लागु हुने छैन । जाहा र उनको टोली क्रिस्टल प्यालेसले अझैसम्म कार्वाहीविरुद्ध अपिल गर्ने वा नगर्ने विषयमा केही बताएका छैनन् ।