१ मंसिर २०८१, शनिबार
नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा चलिरहेको केन्द्रीय कार्यसमितिको बैठकमा पुगेर पार्टी सभापति शेरबहादुर देउवालाई उनले राजीनामा पत्र बुझाएका हुन् ।
महरले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा पत्र पढेर सुनाएका थिए । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने पार्टीको तयारी रहेको र नेविसंघको महाधिवेशन हुन नसकेको अवस्थालाई ध्यान दिँदै राजीनामा दिएको उनले बताए।
उनले २७ वर्ष गाउँको स्कूल हुँदै विद्यार्थीका केन्द्रीय राजनीति नेतृत्व गर्ने अवसर प्राप्त भएको हुँदा संस्थागत रुपमा नेपाली कांग्रेस, नेविसंघ र व्यक्तिगत रुपमा पार्टी सभापतिसहितको भूमिका र योगदानलाई राजनीतिक सम्पतिको रुपमा लिएको बताए ।
उनको राजीनामा पत्रमा पार्टी एक ढिक्का भएर सर्वसत्तावाद विरुद्ध लड्नु पर्ने समयमा नेविसंघको विवादमा पार्टी विभाजित हुने र यही विषयमा केन्द्रीत हुने काम नहोस् भन्नको लागि आफूले राजीनामा दिएको समेत उल्लेख छ।
साथै उनले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने नेपाली कांग्रेस केन्द्रीय समिति, सभापति, नेतागण, नेविसंघ केन्द्रीय कार्य समिति, भातृ तथा शुभेच्छुक संगठन, संघका सबै तहका साथीहरु, कांग्रेसका शुभेच्छुक तथा संचार माध्यम सबैलाई आभार व्यक्त गरेका छन् ।