किचेनको सुन्दर व्यवस्थापन

होमल्याण्ड खबर

२०७४ फाल्गुन १३ गते, आईतवार १०:४८ मा प्रकाशित

हामी परिवारको साथ आफ्नो अधिकांश समय किचनमै बिताउँछौ । यसर्थ पनि किचेन व्यवस्थित तथा ठूलो होस् भन्ने चाहना हुने गर्छ । यदि घर आफैले बनाएको हो र ठाउँ प्रसस्त छ भने यस्तो चाहना अवश्य पूरा हुन्छ । तर, भाडामा लिएको फ्ल्याट वा साघुँरो घरमा भने भएकै किचेनले चित्त बुझाउन बाध्य भइन्छ । किचेनमा हुने धेरैथरी सामान मिलाएर राख्न सजिलो छैन । झन् सानो किचेनमा सामान व्यवस्थापन गर्नु त चुनौतीपूर्ण नै हुन्छ । किचेनको व्यवस्थित रूपले हाम्रो काम गर्ने विधि र तरीकाको प्रदर्शन पनि गरिरहेको हुन्छ । घरमा आउने जो कोहीको पहिलो प्रभाव नै किचेनमार्फत नै हुने गर्दछ । सानातिना केही उपाय अपनाएर तपाईं सानो किचेनमा धेरै सामान मिलाएर राख्न सक्नुहुन्छ । किचेनको हरेक कुनाकुनाको पूरै उपयोग गर्न सक्नुहुन्छ । यसले गर्दा एकतर्फ तपाईंको किचेन सफासुग्घर देखिन्छ भने अर्कोतर्फ परिवारका सदस्य तथा पाहुनाले तपार्ईंको प्रशंसा गर्नेछन् । किचेनको सरसफाइ वा सामान व्यवस्थापन गर्ने बेला पूरै ध्यान त्यसमै दिनुहोस् । सानो किचेनमा सामान व्यवस्थापन गर्ने केही तरीका यस प्रकार छन्

भित्ताको उपयोग गर्नुस्
भान्सामा प्रयोग हुने सानासाना सामान जस्तै– चम्चा, चक्कु, लाइटर तथा न्यापकिन दराजमा नराख्नुहोस् । यस्ता सामान दराजमा राख्दा काम गर्दा झन्झट हुनुका साथै किचेन पनि अव्यवस्थित देखिन्छ । त्यसैले, यिनीहरूलाई अट्काउन भित्ताहरूमा रहेको खाली ठाउँको प्रयोग गर्नुहोस् ।

ठाउँअनुसार सामान मिलाउनोस्
भान्सा भाँडा तथा अन्य जरुरी वस्तुले भरिएको हुन्छ । हामीलाई कुनै न कुनै समयमा यी सबै वस्तुको आवश्यकता पर्छ । तपाईं आफ्नो सुविधा तथा आवश्यकताका हिसाबले जरुरी वस्तुहरूलाई अगाडि राख्नुहोस् । साथै, कहिलेकाहीँ मात्र प्रयोग गरिने वस्तुलाई पछाडि राख्नुपर्छ ।

धारामुनिको ठाउँ पनि प्रयोग गर्नोस्
हामी प्रायः यस स्थानको मतलब राख्दैनौं । किचेन सफा गर्दा आवश्यक पर्ने वस्तुहरूलाई यस स्थानमा राखेर यसको सही प्रयोग गर्न सकिन्छ । भान्छाको फोहोर राख्न प्रयाग गरिने भाडो पनि यहाँ राख्न सकिन्छ । यी वस्तुहरूलाई ढाक्न तपाईं धाराको तल एउटा ढोका राख्न सक्नुहुन्छ ।

ओभरहेड क्याबिनेटको प्रयोग गर्नोस्
यदि तल राखिएको क्याबिनेटमा पूरै सामान अटेको छैन भने तपाईं माथि भित्तामा पनि क्याबिनेट बनाउन सक्नुहुन्छ । यी साना क्याबिनेटमा दैनिक प्रयोग गरिने सामान राख्न सक्नुहुन्छ । यसले गर्दा सामान निकाल्दा बारम्बार तपाईंलाई निहुरिनु पर्दैन ।

बास्केट तथा होल्डरको प्रयोग गर्नोस्
साना साना सामान राख्नका लागि तपाईं क्याबिनेटभित्र बास्केट तथा होल्डर राख्न सक्नुहुन्छ । बास्केट तथा होल्डरमा अन्य साना सामान, ठूला बोतल, सिसी आदि अड्याएर राख्नुहोस् । यसले गर्दा तिनीहरु सामानको बीचमा हराएर बस्दैनन् । साथै, यिनीहरूलाई खोज्ने समयको पनि बचत हुन्छ ।

फोल्डेबल टेबल
यदि तपाईंको डायनिङ टेबल ठूलो चाहिन्छ तर भान्छामा स्पेस थोरै छ भने पनि फिट गर्न चाहनुहुन्छ भने त्यो सम्भव छ । अहिलेसम्म तपाईंले भित्ताहरुको पुरै प्रयोग गरी सक्नुभएको छ । तर, कुनै भित्ताहरू अझै खाली रहेको हुन सक्छ । तपाईं त्यो भित्तामा फोल्डेबल टेबल, कुर्सी राख्न सक्नुहुन्छ । साथै, एकसाथ बसेर खानाको मज्जा लिन सक्नुहुन्छ ।