१० मंसिर २०८१, सोमबार
क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको इलिमिनेटर खेलमा सन्दीप लामिछाने सम्मिलित टिम टोरन्टो नेसनल्स सोमपाल कामी सम्मिलित विनिपेग होक्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
बिहीबार भउको पहिलो ईलिमिनेटर खेलमा होक्ससँग टोरन्टो डीएल पद्वतिका आधारमा २ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
२ सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७ दशमलव १ ओभरमा २ सय १ रन बनाउँदा खेल अवरुद्व भएको थियो । तर खेल सुचारु हुने अवस्था नभएपछि डीएल पद्वतिका आधारमा होक्स २ रनले विजयी बन्न पुग्यो ।
होक्सका लागि जेपी डुमिनी एक्लोले ८५, सन्नी सोहालले ३६, कप्तान रियाद एम्रितले अविजित ३३ र क्रिस लिनले २१ रन बनाए ।
अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् ।
टोरन्टोका लागि सन्दीपले दुई विकेट लिए ।
पहिला ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।
टोरन्टोका लागि हेनरिक क्लासेनले अविजित १०६,रोड्रिगो थोमसले ७३ र चिराग सुरीले १६ रन बनाए ।
यस जितसँगै होक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा भ्यान्कुभर नाइट्सले ब्राम्प्टन वल्भ्सलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । अब दोस्रो क्वालिफायरमा शनिबार ब्राम्टन र होक्सबीच प्रतिस्पर्धा हुनेछ । विजेता हुने टिमले उपाधिका लागि आइतबार भ्यान्कुभर नाइट्ससँग खेल्नेछ ।