११ मंसिर २०८१, मंगलवार
सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आयोजक सिंगापुरले जिम्बावेलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई ४ रनले हराएको हो ।
सिंगापुरले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित १८ ओभरमा ७ विकेटको क्षतिमा १७७ रन बनायो । जिम्बावेका लागि कप्तान सिन विलियन्सले ६६, रेगिस चाकबभाले ४८ र टिनोटेण्डा मुटुमबोड्जीले ३२ रन बनाए ।
सिंगापुरका कप्तान अमजाद महबुब र जनक प्रकाशले समान २ विकेट लिए । त्यसअघि सिंगापुरले निर्धारित १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । सिंगापुरका लागि मनप्रित सिंहले ४१, टिम डेभिडले ४१ रन र रोहन रंगराजनले ३९ र सुरेन्द्रन चन्द्रमोहनले २३ रन बनाए ।
जिम्बावेका रायन ब्रुलले ३ तथा रिचार्ड नाग्भाराले २ विकेट लिए ।
वर्षाले प्रभावित गरेपछि १८ ओभरमा झारिएको थियो ।
सिरिजको तीन वटै टिमले सुरुवती २/२ खेल खेल्दा १/१ जित हात पारेका छन् । सबै टोलीको समान २/२ अंक भएपनि नेपाल रनरेटका आधारमा शीर्षस्थानमा छ ।
नेपालले २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । दोस्रो स्थानमा झरेको जिम्बावेको पनि २ खेलबाट २ अंक रहेको छ । त्यस्तै, २ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ ।
अब नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ ।