२ मंसिर २०८१, आईतवार
कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेका बेला शुक्रबार नेविसंघले सानेपास्थित केन्द्रीय कार्यालयमा नारावाजी र प्रदर्शन गरेको छ ।
नेविसंघको विधान विपरित पार्टीले ३२ वर्ष उमेर माथिको व्यक्तिलाई अध्यक्ष चयन गर्न लागेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।
प्रदर्शनको नेतृत्व गरेका नवराज त्रिपाठीले नेविसंघको विधान विपरित पार्टीले निर्णय गर्न लागेकाले विरोध गरेको र विधान कार्यान्वयन नभए आमरण अनसन बस्ने बताए ।
नेबिसंघका नेता मनिस सिम्खडाले भने ‘नेविसंघका बुबा उमेरको अध्यक्ष बनाउने तयारी भएको सूचना पाएका छौं,’ उनले भने, ‘विधानअनुसार ३२ वर्ष उमेर हद भित्रको मात्र नेविसंघमा आवद्ध हुन पाउने प्रावधान छ । केन्द्रीय समितिले जारी गरेको नेविसंघको विधान पालना हुनुप¥यो भन्ने हाम्रो माग हो ।’
पार्टी संस्थापनले आफु निकटलाई अध्यक्ष बनाउने आन्तरिक तयारी भएको सूचना पाएपछि विद्यार्थीले केन्द्रीय समिति बैठक बसेका बेला नाराबाजी र प्रदर्शन गरेका हुन् ।
५० वर्ष पुगेका राजीव ढुंगालाई नेविसंघको सभापति बनाउन खोजेको चर्चा सुरु भएपछि त्रिपाठीसहितका विद्यार्थी नेताहरुले पार्टी सभापति शेरवहादुर देउवालाई घेरेर नाराबाजी गरेका हुन् ।
बचाउँछौँ हामी नेविसंघ–विधान मिचे आमरण अनसन भन्ने मुल नारा बनाएका उनीहरुले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका देउवालाई घेर्दै विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।
विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवा आक्रोशित हुँदै औंलो ठड्याएर अपशब्द समेत प्रयोग गरेका थिए । प्रदर्शन गर्ने नेता कार्यकर्ता कुन्दन काफ्ले निकट मानिन्छन् ।