सागको सम्पूर्ण तयारी पूराः मन्त्री विश्वकर्मा

होमल्याण्ड खबर

२०७६ मंसिर १२ गते, बिहीबार १२:४७ मा प्रकाशित

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं सागको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भैसकेको बताएका हुन् ।

उनले भने, ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समउद्घाटन गर्नुहुनेछ ।’

मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए ।

१३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाई छ ।

साग खेलका केही खेलहरु हिजोबाटै सुरु भैसकेको पनि उनले जनाए । उनका अनुसार महिला र पुरुष भलिवलका खेलहरु सुरु भैसकेका छन् । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभसंकेत हो ।’, उनले भने ।

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले भने,‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’

उनले उद्घाटन समारोहमा देशका ख्याँतिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष साँस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे । उनले भने,‘सबै हिसाबले तयारी पुरा भैसकेको छ ।’

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहाँसिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।

सागलाई व्यवस्थित् गर्नको लागि स्वयमसेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रवन्ध गरिएको पनि उनले स्पष्ट पारे ।