९ मंसिर २०८१, आईतवार
पूर्वाधारको पनि पूर्वाधारका रुपमा सडकलाई लिने गरिएको छ । डिजिटल इकानोमीमा नेपाल प्रवेश गरि नसकेको वर्तमान अवस्थामा देश रोड इकोनामी मै छ । त्यसैले पनि यो पूर्वाधार निर्माणको युग हो र त्यसको पनि आधारभूत पक्षका रुपमा सडकलाई केन्द्रमा राखिँदै आएको छ । केन्द्र, प्रदेश र स्थानीय तह सबैले बजेटको ठूलो हिस्सा सडक निर्माणमा केन्द्रित गरेका छन् । विकास माग्ने नागरिकको रोजाईमा पनि सडक नै पहिलो प्राथमिकतामा रहँदै आएको छ । प्रधानमन्त्री केपी ओलीले सत्ता सम्हालेको २ वर्ष अर्थात ७ सय ३० दिन कटेर ३१ औं दिन पुगेको छ । यसबीचमा दैनिक सरदर ५.७ किलोमिटरका दरले सडक कालोपत्रे गरेको दावी प्रधानमन्त्री ओलीले नै गरेका छन् । उनले त्यस्तो सडक केन्द्र सरकारले मात्रै निर्माण गरेको हो वा प्रदेश र स्थानीय तहको हिस्सा पनि जोडिएको छ भन्ने चाँही खुलाएका छैनन् । यद्यपी उनले केहि वर्ष अघिसम्म एक वर्षमा जम्मा १० किलोमिटर सडक निर्माण हुने गरेको तर आफु आएपछि एक दिनमै औषत ५.७ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको दावी गरेका हुन् । ‘कुनै समय सिङ्गो वर्षभरिमा १० किलोमिटर मात्र सडक कालोपत्रे भएको अवस्था समेत थियो । यो सरकार गठन भएपछि प्रतिदिन करिब ५.७ किलोमिटरका दरले कालोपत्रे सडक निर्माण भइरहेको छ ।’, ओलीले भनेका छन् ।
सरकारले २ वर्ष अर्थात ७ सय ३० दिनमा ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । त्यस्तै, ३ हजार ५ सय ७९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण भएको सरकारको दावी छ । यहि अवधीमा ३ सय २५ वटा सडक पुल निर्माण गरिएको सरकारी दावी छ । सरकारले चालु अािर्थक वर्षको ५ महिनामै ४१ वटा सडक पुल निर्माण निर्माण सम्पन्न गरेको बताएको छ ।