‘राष्ट्रपति विरुद्ध महाअभियोगको प्रचार झुठाे हो’

होमल्याण्ड खबर

२०७७ असार २१ गते, आईतवार ०८:२१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउन लागिएको भनेर भइरहेकाे प्रचार झुठाे भएको बताउनुभएको छ ।

आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गर्दै नेता श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ,  ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँगको आकस्मिक र अनौपचारिक छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको बताउनुभएको सन्दर्भलाई लक्षित गर्दै श्रेष्ठले त्यो अनर्गल प्रचार भएको स्पष्ट पार्नुभएको हो ।

राष्ट्राध्यक्ष एवं राष्ट्रपति सम्मानित संस्था रहेको र त्यस्तो गरिमामय संस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतान्न श्रेष्ठको आग्रह छ । प्रवत्ता श्रेष्ठले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।