८ मंसिर २०८१, शनिबार
सरकारले काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलकार सञ्चालनका लागि गृहकार्य थालेको छ । निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ ।
विस्तृत सम्भाब्यता अध्धयनले काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखीएको छ । १५ अर्ब लगानी गर्दा काठमाडौं उपत्याकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन गर्न सकिने अध्ययन रिपोर्टले देखाएको हो ।
प्रतिवेदनमा कालिमाटीबाट बसन्तपुर, रत्नपाक–डिल्लीबजार–भन्डारखाल–चाबहिल हुँदै बौद्ध पुग्ने पहिलो केबलबार रुट प्रस्ताव गरिएको छ । यो ७ किलोमिटरको रुटमा ७ वटा स्टेशन राख्नुपर्ने उल्लेख छ । यसलाई तत्कालै पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने योजना छ ।
गोंगबुबाट बालाजु–सोह्रखुट्टे–कालिमाटी–बल्ख–त्रिभुवन विश्वविद्यालयसम्म पनि चलाउन सकिने भन्दै प्रस्ताव गरिएको छ । यस्तै कलंकीबाट टेकु–थापाथली हुँदै रत्नपार्कसम्म पनि केबलकार चलाउन सकिने अध्ययनले देखाएको छ । लगनखेलबाट पुल्चोक–थापाथली–रत्नपार्कसम्मको रुटमा पनि केबलबार चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
मेट्रो तथा मोनो रेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउँदै गर्दा यही प्रतिवेदनलाई आधार बनाएर केबलकार सञ्चालनबारे पनि सरकारी स्तरमा छलफल सुरु भएको थियोे । सडकमा सवारी चाप घटाउन केबलकारको प्रयोग महत्वपूर्ण र वैज्ञानिक हुने ठहर प्रतिवेदनमा गरिएको छ ।
फ्रान्स सरकारको सहयोगमा तयार भएको सम्भाव्यता अध्ययन प्रतिवेदन फान्सेली कम्पनीहरु एमडिपी, पोमा र स्याष्ट्रासहित पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनले पाँच वर्ष लगाएर तयार गरेका हुन ।
फ्रान्स सरकारले तीन करोड ४० लाख खर्चिएर तयार पारेको प्रतिवेदन अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ । नेपालका लागि फ्रान्सका राजदूत ईभ कार्मोनाले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
प्रतिवेदन बुझ्दै मन्त्री महासेठले सरकारले केही साताभित्र प्रतिवेदनमाथि आवश्यक अध्ययन गरेर उचित निर्णय लिने बताएका छन । उनले यो प्रतिवेदनबारे लगानी बोर्डसँग पनि छलफल गर्ने बताए । काठमाडौंमा ट्राफिक अवस्थालाई हेर्दा यो सबैभन्दा वैज्ञानिक विकल्प हुने मन्त्रालयका अधिकारी पनि बताउँछन । ऊर्जा संकट नरहेकाले वातावरणीय प्रदुषण कम गर्ने सवालमा पनि केबलकार सञ्चालन गर्नु निकै महत्वपूर्ण हुन्छ ।
केबलकार निर्माणका लागि स्टेशनहरु बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने छ । यो आयोजनालाई सार्वजनिक निजी साझेदारीको मोडलमा बनाउन सकिने प्रस्ताव पञ्चकन्या र कालिका कन्स्ट्रक्सनसहित फ्रान्सेली कम्पनीले गरेका छन ।