१३ मंसिर २०८१, बिहीबार
काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर फिल्म हल सञ्चालन गर्ने निर्णय गरिएको हो,’ उनले भने । सरकारले फिल्म हल खोल्न अनुमति नदिए विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।
कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको छ । यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन । कोभिडको प्रभाव अझ बढी सिनेमा हल सञ्चालकमा परेको छ ।
सरकारले लकडाउन गर्नु अघि नै बन्द गरेका यी हलहरू अहिलसम्म खुल्न सकेका छैनन् । सिनेमा हल बन्द भएपछि मासिक रुपमा हुँदै आएको करिब ६० करोड आम्दानी पनि डुबेको छ । कोभिडका कारण नेपालभर रहेका २१९ वटा सिनेमा हल बन्द भएका छन् ।
कोरोनाका कारण चलचित्र उद्योग ठप्प भएको ९ महिना बितेको छ । सिनेमा हलले ९ महिनामा करिब पाँच अर्ब गुमाएका छन् । कोभिडका कारण चैत ११ गतेभन्दा अगावै बन्दै भएको चलचित्र उद्योग अहिलेसम्म खुल्न नसक्दा छायांकन सकिएर रिलिज हुन ठिक्क परेका २२ वटा चलचित्रमा भएको करिब १ अर्ब लगानी होल्ड भएको हो । चलचित्र उद्योगमा लगानी भएको एक अर्ब रुपैयाँ होल्ड भएको छ भने नयाँ लगानीका लागि तयार भएका चलचित्र निर्माण कार्य अघि बढ्न नसकेको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।
‘कोभिड अगाडि नै छायांकन सकिएर रिलिजका लागि तयार भएका करिब २०/२२ वटा चलचित्र थन्किएका छन्,’ उनले भने ‘यसको लगानी त होल्ड भयो नै यसका साथै छायांकन कै क्रममा रहेका १५ वटा चलचित्र पनि पुरा हुन सकेका छैन । यसका साथै छायांकनमा जान तयारी भएर बसेका २० वटा चलचित्र पनि त्यतिकै थन्किएको उनले बताए । समग्रमा करिब ६० वटा चलचित्रमा कोभिडको प्रत्यक्ष असर परेको छ ।
यी हलहरूमा ७२ हजार सिट छन् । यी हलहरू दैनिक तीन सिफ्ट सञ्चालन हुने गरेको थियो । सिनेमा हलहरूले सिनेमा चलाउन नपाउँदा मासिक ६० करोड गुमाएका छन् । छिमेकी मुलुक भारतले चलचित्र हल खोल्ने तयारी गरेपनि नेपालमा भने त्यस्तो केही संकेत नआएको अध्यक्ष दाहालले बताए ।
विगत ७ महिनादेखि चलचित्र उद्योग बन्द हुँदा साढे दुईदेखि ३ लाखलाई असर परेको छ । चलचित्र निर्माण क्षेत्रमा मात्रै करिब ४० हजारले प्रत्यक्ष रोजगारी पाएका थिए । यसका साथै चलचित्र हलमा काम गर्ने रोजगारको पनि रोजगारी गुमेको अवस्था छ । नेपालभर २१९ वटा हल छन् । यसमा काम गर्ने कर्मचारी पनि सबै बेरोजगार छन् ।
‘चलचित्र निर्माणमा लागेका कलाकार तथा प्राविधिकहरूको हालत अझ खराब छ,’ उनले भने ‘उनीहरूलाई जीवन निर्वाहको लागि केही सहयोग बोर्डले गरेपनि यो प्रर्याप्त होइन । समग्रतामा हेर्दा कोभिडका कारण चलचित्र उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ लाखलाई असर परेको छ ।