निषेधाज्ञाको प्रभाव : घरजग्गा किनबेच ५० प्रतिशतले घट्यो

होमल्याण्ड खबर

२०७८ जेष्ठ ५ गते, बुधबार ०९:४८ मा प्रकाशित

निरन्तर उछाल आइरहेको घरजग्गा किनबेचमा कोभिड महामारीको दोस्रो लहरले ब्रेक लगाइदिएको छ । सरकारले कोभिडबाट जागिन जारी गरेको निषेधाज्ञाका कारण घरजग्गा किनबेचमा ५० प्रतिशतले गिरावट आएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, बैशाख महिनामा मुलुकभर ४३ हजार ३९० घरजग्गा किनबेच भएका छन् । जबकी, चैत महिनामा ८७ हजार १८७ घरजग्गा किनबेच भएका थिए । चैत महिनामा भएको घरजग्गा किनबेच इतिहासकै सर्बाधिक धेरै थियो ।

कोभिड महामारीको पहिलो लहर मत्थर हुँदै अर्थतन्त्र चलायमान हुन थालेपछि घरजग्गा किनबेच ह्वात्तै बढेको थियो । गत पुसदेखि घरजग्गा किनबेचमा हरेक महिना नयाँ इतिहास कायम भइरहेको थियो ।

तर, बैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएपछि किनबेच ओरा लागेको हो । बैशाख महिनामा मुलुकका धेरै मालपोत कार्यालयमा १५ दिनभन्दा बढी घरजग्गा किनबेच हुन पाएन ।

अहिले मुलुकभर तीनवटा जिल्लाबाहेक सबैमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञासँगै मालपोत कार्यालयमा घरजग्गा किनबेच पनि रोकिएको छ । यद्यपी, मालपोतको आन्तरिक काम भने निरन्तर भइरहेको विभागका महानिर्देशक शेष नारायण पौडेल बताउँछन् ।

बैशाख महिनामा २० वटा अपार्टमेन्ट खरिद बिक्री भएका छन् । अपार्टमेन्ट खरिद बिक्री पनि अघिल्ला महिनाको तुलनामा कम हो ।

सेवा प्रवाह पनि ५५ प्रतिशतले गिरावट

मुलुकभर अनलाइन प्रणाली लागू भएका १०८ मालपोत कार्यालयको तथ्यांक हेर्दा बैशाख महिनामा सेवा प्रवाह नै घटेको छ । निषेधाज्ञाका कारण मालपोत कार्यालयले सेवा प्रवाह बन्द गरेपछि मुलुकभर बैशाखमा झन्डै ५० प्रतिशतले सेवा प्रवाहमा गिरावट आएको छ ।

विभागका अनुसार, बैशाखमा निषेधाज्ञाका कारण सेवाग्राहीलाई लिखत पारित, नामसारी, रोक्का, पुकुवा, संसोधन, प्रतिलिपी, अपार्टमेन्टको लिखत पारित, अंशबण्डा लगायत शिर्षकमा १ लाख १५ हजार ९२४ सेवा प्रवाह भएको छ । जबकी, चैत महिनामा देशभरका मालपोत कार्यालयले २ लाख ५६ हजार ७५० सेवा प्रवाह गरेका थिए । गत पुसदेखि मालपोत कार्यालयको सेवा प्रवाह संख्या पनि उत्साहजनक रुपमा बढिरहेको थियो ।

अहिले देशभर १२६ मालपोत कार्यालय सञ्चालनमा रहेपनि १०८ मालपोत कार्यालयमा मात्र अनलाइन प्रणाली लागू भएको छ । अनलाइन प्रणाली लागू नभएका १८ वटा मालपोत कार्यालयमा त्यति ठूलो कारोबार नहुने विभाग बताउँछ । विभागले १८ मालपोत कार्यालयमा पनि अनलाइन प्रणाली लागू गर्ने अन्तिम तयारीमा छ ।

राजश्व असुली पनि घट्यो

गत चैतमा किर्तिमानी राजश्व असुली गरेका मालपोत कार्यालयहरुले बैशाखमा सेवा प्रवाहको संख्या घटेपछि आधामात्र राजश्व संकलन गर्न सकेका छन् । विभागका अनुसार, बैशाखमा मुलुकभरका मालपोत कार्यालयबाट ४ अर्ब २९ करोड ६५ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।जबकी, चैत महिनामा ८ अर्ब ५९ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । यस्तै, फागुनमा देशभरबाट ७ अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्यांक छ ।

बैशाखमा संकलन भएको कुल राजश्वमध्ये रजिष्ट्रेसन दस्तुरबाट २ अर्ब ४२ करोड ६३ लाख, पूँजिगत लाभकरबाट १ अर्ब १० करोड १९ लाख, सेवाकरबाट २३ करोड ४८ लाख रुपैयाँ संकलन भएको हो । नेपाल हाेमस् बाट साभार