३० फाल्गुन २०८२, शनिबार
राप्रपाका नेता राजेन्द्र लिङदेनले काँग्रेस र कम्युनिस्ट पार्टीहरू ठूला पार्टी भएपनि जनताको अघि मुख देखाउने अवस्थामा नभएको बताएका छन् । पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै लिङदेनले ठूला पाटीै कांग्रेस र कम्युनिस्ट पार्टीहरू मुख देखाउन नसक्ने अवस्थामा रहेका जिकिर गरेका हुन् ।
“अहिले काँग्रेस र कम्युनिस्ट पार्टीहरू ठूला भए पनि जनताको अगाडि मुख देखाउने अवस्था छैन । त्यसैले राप्रपा अगाडि आउन सक्नुपर्छ । राप्रपा बलियो भएमा हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापना हुन्छ । त्यसैले हामीलाई असफल हुने छुट नै छैन । यो राप्रपाका नेता कार्यकर्ताका लागि अग्नि परीक्षा हो । हामी ३१ वर्षदेखि राप्रपामा रहेको खराबीको अन्त्य गर्न चाहन्छौँ । अब हामी पशुपतिशमशेर राणा, प्रकाशनचन्द्र लोहनी र कमल थापाका कार्यकर्ता हुने कि स्वाभिमानी राप्रपाका कार्यकर्ता बन्ने भन्ने यो सुवर्ण अवसर हो” , उनले भने ।


काँग्रेस–एमालेका युवा नेताले नसकेकाले आफूले आँट गरेको भन्दै उनले राप्रपामा आएको परिवर्तन अन्य पार्टीका लागि पनि सन्देश हुने दाबी गरेका छन् ।
“ काँग्रेस, एमाले र माओवादीका युवा नेताहरूले आँट गर्न सक्नुभएन । नेतृत्व परिवर्तनको धक्कु लगाएर आफ्नो पद मात्र सुरक्षित गर्नुभएको छ । राप्रपाले नेतृत्व परिवर्तन गरेर उदाहरण बन्दै छ” , लिङदेनले बताए । उनले आफ्नो पार्टीमा युवाको उपस्थिति बलियो रहेको र अब हिन्दु राष्ट्र र राजसंस्थाका लागि सडक र सदनबाट अगाडि बढ्ने अठोट समेत गरेका छन् ।