नेताहरुले जनताको जस्तो व्यवहार गर्नुपर्छ : ओली

होमल्याण्ड खबर

२०७८ मंसिर २९ गते, बुधबार १३:१० मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै काम पनि उपयुक्त समयमा गर्नुपर्ने बताएका छन्। नेकपा एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले केन्द्रीय सदस्यहरूको व्यवहार समयानुकूल सबैले स्वीकार्न योग्य हुनुपर्ने बताएका छन्।

मानिस चेतनशील प्राणी भएको बताउँदै उनले प्रशोधित व्यवहार र कार्यशैली अपनाउनुपर्ने बताएका हुन्। नेताहरूले जनशैलीयुक्त व्यवहार अपनाउन उनको निर्देशन छ। ‘पशुले प्राकृतिक नियम लगाउँछ। तर, मानिसले सामाजिक नियम लगाउँछ। मैले कमरेडहरूलाई यत्ति भनें। जुन हामीले जीवनमा लागू गर्‍यौं भने सफल हुनेछौं,’ उनले भने। ओलीले अरुप्रति बरु नरम अनुशासन लगाएर आफूप्रति कडा अनुशासन लगाउनुपर्ने बताएका  छन्। तर, हाम्रो समाजमा अरुप्रति कडा हुने र आफूप्रति नरम हुने चलन रहेको उनले बताए।

उनले दुई महिनाको बीचमा असाधारण हिसाबमा दुई तहका महाधिवेशन सफलताका साथ सफल पारेको बताएका छन्। ‘यसमा हामीले सबैलाई न्याय नगरेका पनि हुनसक्छौं। यस्तो हुनुमा कति सूचनाको अभाव होला। कति अन्तर्यको जानकारी नभएको पनि हुनसक्छ। यस्तो अवस्थामा सबैलाई न्याय नभएको हुनसक्छ,’ उनले भने।