८ मंसिर २०८१, शनिबार
बैंकहरूको कृषि कर्जा वृद्धि भए पनि अझै राष्ट्र बैंकको तोकेअनुसार ऋण प्रवाह गर्न सकेका छैनन् ।
बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा गरेको ऋण प्रवाह ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य गनुपर्ने लगानीको सीमा बढाएपछि ऋण बढेको हो ।
नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूलाई कुल ऋण लगानीको १० प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्न निर्देशन दिएको थियो । तर, बैंकहरूले कृषि क्षेत्रमा ऋणको माग नभएको गुनासो गरेपछि १० प्रतिशत लगानी गर्नुपर्ने समयसिमा पुससम्म थपेको छ ।
यसअघि बैंकहरूले कुल लगानीको २५ प्रतिशत उत्पादनशील र प्राथमिकताप्राप्त क्षेत्रमा गर्नुपर्ने र त्यसमध्ये १५ प्रतिशत हाइड्रो र कृषिमा गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले कृषिमा मात्र १० प्रतिशत लगानी गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले निर्देशन दिएपछि एक वर्षको अवधिमा बैंकहरूको कृषि कर्जा ५० प्रतिशतले वृद्धि भएको हो । बैंकहरूले २०७४ असारसम्ममा कृषि क्षेत्रमा ९० अर्ब लगानी गरेकोमा २०७५ असारसम्ममा १ खर्ब ३५ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
बैंकहरूको कृषि कर्जा वृद्धि भए पनि अझै राष्ट्र बैंकको तोकेअनुसार ऋण प्रवाह गर्न सकेका छैनन् । कृषिमा स–सानो आकारको ऋण मात्र माग भएकाले राष्ट्र बैंकले तोकेअनुसार लगानी पुर्याउन गाह्रो भएको माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बताउँछन् । “जग्गा खण्डीकरण भएको छ, कृषिमा आकर्षण छैन,” उनले भने, “स–सानो लगानी गरेर तोकेको सिमा अनुसार लगानी पुर्याउन सकिँदैन ।” कृषिमा लगानी बढाउन कर्पोरेट क्षेत्र कृषिमा आकर्षित हुनुपर्ने उनको भनाइ छ ।
कृषिलगायत उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गनुपर्ने राष्ट्र बैंकको नीति छ । यसैगरी व्यावसायिक कृषिमा आकर्षण बढेसँगै कर्जाको माग पनि वृद्धि भएको हो । राष्ट्र बैंकले तोकेको मापदण्ड पुर्याउनका लागि बैंकहरूले कृषि कर्जा बढाउँदै लगेका छन् ।
कृषि क्षेत्रमा लगानी आकर्षित गर्नका लागि सरकारले कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ । सरकारले दुई वर्षअघिको बजेटमार्फत घोषणा गरी व्यावसायिक कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ । कृषि व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस व्यवस्थाअन्र्तगत मात्रै ५ हजार कृषकलाई ६ अर्ब ६१ करोड प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समयमा व्यावसायिक कृषिप्रति सर्वसाधारणको आकर्षण बढिरहेको र बैंकमा कर्जाको माग पनि बढेको छ । विशेष गरी व्यावसायिक तरकारी खेती, गाईपालन, माछापालन, बाख्रापालनलगायतका क्षेत्रमा लाग्ने युवाहरू बढिरहेका छन् । युवालाई व्यावसायिक कृषिमा आकर्षित गराउनका लागि सरकारले साना व्यवसायी तथा युवा स्वरोजगार कोष, व्यावसायिक कृषि तथा व्यापार आयोजना मार्फत पनि व्यावसायिक कृषिमा सहयोग गर्दै आएको छ ।
बैंकहरूले गत आर्थिक वर्षमा कृषि क्षेत्रमा गरेको लगानीमध्ये सबैभन्दा बढी पशुपालनमा ४७ अर्ब ६३ करोड रुपैयाँ छ । सरकारले साना किसान बैंकमार्फत मासुजन्य व्यावसायिक पशुपालनका लागि लगानी गरेकाले पनि यस क्षेत्रमा बढी कर्जा देखिएको हो । यसैगरी व्यावसायिक खेतीमा १५ अर्ब ७७ करोड, चिया उत्पादनमा ३ अर्ब १३ करोड, माछापालन र मासु उद्योगमा २ अर्ब ५५ करोड र अन्य कृषि सेवामा ६६ अर्ब ७९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।