अमलेखगन्ज पेट्रोलियम पाइपलाई विस्तारको काम अघि बढाउन इन्डियन आयल कर्पाेरेसन नेपालमा

होमल्याण्ड खबर

२०७४ कार्तिक २४ गते, शुक्रबार ०६:१९ मा प्रकाशित

लामो समयदेखि चर्चामा रहेको रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाई विस्तारको काम अघि बढाउन इन्डियन आयल कर्पाेरेसन (आईओसी)का प्रतिनिधि नेपाल आएका छन् ।
आईओसी पेट्रोलियम पाइपलाईन परियोजनाका निर्देशक अनिश अग्रवालको नेतृत्वमा तीन सदस्यीय प्रनिनिधिमण्डल बिहीबार काठमाडौं आएको हो । पाइपलाइन परियोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आईओसी र नेपाल आयल निगमका उच्च अधिकारीबीच छलफल भएको छ । पाइपलाइन प रियोजनमा भएको प्रगति र यसलाई कसरी अगाडि बढाउने विषयमा छलफल भएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । पाइपलाइन विस्तार गर्न हाल भएको प्रगति, यसमा देखिएका समस्या र भावी रणनीतिका विषयमा छलफल भएको उनले बताए ।
आईओसी र एनओसीका उच्च अधिकारीहरू पाइपलाइनका विषयमा स्थलगत अवलोकन गर्न शुक्रबार जाँदै छन् । नेपाल र भारत सरकारबीच पाइपलाईन विस्तारका लागि सम्झौता भएको दुई वर्ष बितिसके पनि अझै विस्तारको काम अगाडि बढ्न सकेको छैन ।
वन मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को प्रतिवेदन नआउँदा पाइपलाइन बिच्छ्याउने बाटोमा पर्ने रुख कटान गर्न सकिएको छैन । जसका कारण अझै पनि पाइप बिच्छ्याउने काम सुरु भएको छैन । पाइपलाइन बिच्छ्याउनका लागि आवश्यक पर्ने पाइपका लागि टेन्डर भइसकेको निगमको भनाई छ । भारतीय आयल निगमले आवश्यक पाइपका लागि टेन्डर गरिसकेको छ । उक्त टेन्डरअनुसार ठेकेदारमार्फत पाइप खरिद भइसकेको निगमले जनाएको छ ।
खरिद गरिएका पाइप र अन्य उपकरण नेपाल ल्याउने सम्बन्धमा भन्सार छुटलगायत सुविधाका लागि पनि प्रक्रिया अघि बढेको निगमले बताएको छ । अब पाइप बिच्छ्याउने काम धमाधम अघि बढ्ने निगमले जनाएको छ ।
पाइपलाइन बिच्छ्याउनका लागि ‘साइट क्लियरेन्स’ सबैभन्दा ठूलो समस्याको रुपमा रहँदै आएको छ । पाइपलाइन बिच्छ्याउने क्षेत्रमा घर–टहरा तथा अन्य संरचना र रुखको अवरोधले काम अघि बढ्न सकेको छैन । निगमका अनुसार पाइपलाइन बिच्छ्याउने क्षेत्रमा झन्डै २५ हजार रूख काट्नुपर्ने देखिएको छ भने करिब ४ हजार १ सय ३५ घरटहरा भत्काउनुपर्ने चुनौती छ । त्यस्तै, पाइपलाइन विस्तारका लागि सडकको जग्गा व्यवस्थापन, विद्युत्, टेलिफोनलगायतका तार पनि हटाउन बाँकी रहेको निगमको भनाइ छ । भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाई विस्तार गरिनेछ ।
पहिलो चरणमा मोतिहारीबाट रक्सोलसम्म ३५ किलोमिटर र  रक्सोलबाट अमलेखगन्जसम्म ३७ गरी ७२ किलोमिटर पाइपलाइन बिच्छ्याइनेछ । दोस्रो चरणमा चितवनसम्म पाइपलाइन विस्तार गर्न आईओसी तयार रहेको निगमको भनाइ छ । पाइपलाइन विस्तारको प्राविधिक सहयोग आईओसीले गर्नेछ । आईओसीका प्रतिनिधिले अमलेखगन्जदेखि चितवनसम्म स्थलगत अध्ययन गरी प्राविधिक रूपमा पाइपलाइन विस्तार गर्न उपयुक्त हुने प्रतिवेदन पेस गरेको निगमले जानकारी दिएको छ । अमलेखगन्जदेखि चितवनसम्म ६२ किलोमिटर रहेको छ । आइओसी र निगमको संयुक्त लगानीमा पाइपलाइन निर्माण कार्य अगाडि बढ्न लागेको हो । पाइपलाइन निर्माणका लागि ४ अर्ब २० करोड लागत लाग्ने अनुमान गरिएको छ । निगमले १ अर्ब र बाँकी रकम आइओसीले बेहोर्नेछ ।