९ मंसिर २०८१, आईतवार
परीक्षणका क्रममा पटक–पटक मूल नहर भत्किएपछि सिक्टा सिँचाइ आयोजनाले जोखिमयुक्त क्षेत्रमा बाह्य विज्ञको सहयोग लिने तयारी गरेको छ । दुई वर्षअघि सिक्टाको मूल नहरमा परीक्षणका क्रममा पानी छोडिँदा ढकेरी नजिकै मूल नहर भत्किएको थियो । यसपटक साउनमा पनि परीक्षणका क्रममा मूल नहर भत्किएपछि बाह्य विज्ञको सहयोग लिने तयारी गरिएको हो ।
सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाशबहादुर कार्कीका अनुसार बाह्य सहयोग लिने उद्देश्यले त्रिभुवन विद्यालयको पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसका विज्ञ टोलीले मूल नहरको स्थलगत अनूगमन गरी जानकारी लिएर फर्किएको छ । टोलीले परीक्षणपछि समस्याको पहिचान गरेमा सोहीअनुसार निर्माण गरिने जानकारी दिँदै कार्कीले भने, आवश्यक परेमा बाह्य विज्ञको समेत सहयोग लिनेबारेमा छलफल भइरहेको छ । सिक्टा सिँचाइ आयोजनाका अनुसार मूल नहरको २० देखि ३५ किलोमिटर क्षेत्रमा समस्या देखिएको छ । त्यसमध्ये पनि माटो फिलिङ गरिएको ३–४ किलोमिटर क्षेत्रमा बढी समस्या देखिएको छ ।
पानी परीक्षणका क्रममा दुई वर्षअघि र यस वर्ष भत्केको मूल नहरको दूरी करिब ४ किलोमिटरको फरकमा छ । नयाँ प्रविधिको प्रयोग भएका कारण पनि समस्या देखिएको हुनसक्ने प्राविधिकहरूको अनुमान छ । निर्माण कार्यमा कमजोरी भएको भन्दै सिँचाइ, ऊर्जा तथा जलस्रोत मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेका छन् । मूल नहरको काम कालिका कन्स्ट्रक्सनले गरेको हो ।
सिक्टाको जोखिमयुक्त भनिएको क्षेत्रमा हाल पनि दर्जनौं स्थानमा चर्किएको छ । नहरमा पानी छोड्नासाथ पुनः भत्किने खतरासमेत देखिएको छ ।
सिक्टा सिँचाइ आयोजनाले यस वर्ष मूल नहरमा देखिएको समस्याको समाधान गरी आगामी वर्षदेखि खेतमा पानी छोड्ने योजना बनाएको दावी गरेको छ ।
सिक्टा सिँचाइको पश्चिमतर्फको ४५ किलोमिटर लामो मूल नहरको क्षमता ५० क्यूमेक्स भए पनि परीक्षणमा ४ क्यूमेक्स मात्रै छोडिँदा समेत नहर भत्किएको हो ।