खारेज भयाे ब्याजदरको ‘कार्टेलिङ’, अब बैंकहरुले आफैं ब्याजदर ताेक्ने

होमल्याण्ड खबर

२०८० असार २८ गते, बिहीबार १२:५८ मा प्रकाशित

नेपाल बैंकर्स संघले ब्याजदरमा लगाउँदै आएको भद्र सहमति (कार्टेलिङ) खारेज गर्ने सहमति गरेको छ।

बैंकर्स संघअन्तर्गतका ‘क’ वर्गका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिसहितको बैठकले ब्याजदरको कार्टेलिङ खारेज गर्ने सहमति गरेको हो।

बैठकले निक्षेप तथा कर्जाको ब्याजदर तोक्ने जिम्मा अब सम्बन्धित बैंकहरूलाई नै दिने सहमति गरेको छ। योसँग अब सबै बैंकले साउन १ गतेदेखि लागू हुने गरी आफ्नो संस्थाले कायम गर्ने ब्याज आफैँ थपघट गर्न वा स्थिर राख्न पाउनेछन्।

यसअघि बैंकहरुले ब्याजदरको सीमा निर्धारण गर्दै आएका थिए। यसो गर्दा अधिकांश बैंकहरूको ब्याजदर समान हुन पुगेको थियो। बैंकरहरूको पछिल्लो सहमति पूर्ण रूपमा कार्यान्वयनमा आएको खण्डमा बैंकहरूपिच्छे नै ब्याजदर फरकफरक पर्ने छ।

अहिले साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ। अब बैंकले चाहेमा यसको १० प्रतिशतका दरले थपघट गर्न सक्छन्। यसो गर्दा बढाएमा ११ प्रतिशत र घटेमा ९ प्रतिशत हाराहारीमा बैंकहरूले ब्याजदर कायम गर्न सक्छन्।

अहिले बजारमा पर्याप्त तरलता जम्मा भएको छ। कर्जा लिनेहरू पनि यति बेला कम छन्। यस्तो बेला बैंकहरूमा रकम थुप्रिएको छ। यसकारण बैंकहरूले लगानी तथा निक्षेप संकलनमा ब्याजदर घटाउन सक्ने अवस्था छ।

बैंकहरुसँग करिब १ खर्ब अधिक तरलता रहेको र लगानीयोग्य रकम करिब ४ खर्ब रहेको छ । यस्तो अवस्थामा तत्काल कर्जाको माग बढ्ने अवस्था नहुँदा बैंकहरुले निक्षेपको ब्याजदर घटाउन पक्षमा छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार एक कार्यक्रममा बैंकरले मिलेमतोमा तोकेको भन्दै विरोध गरेका थिए। त्यसलगत्तै बैंकरहरू बसेर कार्टेलिङ खारेजीकाे घाेषणा गरेका हुन्।