कांग्रेसप्रति आरोप लगाउँदा हेक्का राख्न ओलीलाई शेखरको चेतावनी

होमल्याण्ड खबर

२०८१ जेष्ठ ३ गते, बिहीबार १२:२७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए । बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए ।

उनले भने, ‘पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, कांग्रेसले सदनमा राखेको हो । कुनै पनि राजनीतिक दलबाट नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।’

उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको पनि बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर चित्त नबुझे कांग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरुले नमानेको कोइरालाको दाबी थियो । उनले सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरु नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको बताए ।

नेता कोइरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने बताए । उनले राजनीतिक स्थायित्वपछि मात्रै आर्थिक र राजनीतिक विकास हुने बतए । यस्तै कोइरालाले नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप पनि लगाए । नेकपा एमालेका अध्यक्ष ओली संसद विघटन गर्न र यसअघिको संसद विघटन सही भएको पुष्टि गर्ने पक्षमा रहेको उनले आरोप लगाए ।