काठमाडौंका मेयरसहित ३ जनाविरुद्ध कुटपिट र लुटपाटको मुद्दा

होमल्याण्ड खबर

२०८१ जेष्ठ ४ गते, शुक्रबार ११:११ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित ३ जनाविरुद्ध कुटपिट तथा लुटपाटको मुद्दा दायर भएको छ । प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले महानगर प्रमख शाह, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र हानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध बिहीबार जिल्ला अदालतमा काठमाडौँमा मुद्दा दायर गरेका हुन् ।

उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ ।

गत फागुन १६ गते सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो । सो क्रममा आफूलाई कुटपिट गरिएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको पोखरेलले निवेदनमा उल्लेख गरेका छन् ।