राप्रपा अध्यक्ष लिङ्देनले च्याते बजेट पुस्तिका

होमल्याण्ड खबर

२०८१ असार ५ गते, मंगलवार १३:५० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका रोष्ट्रममै च्यातेका छन् । बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभामा बजेटमाथि आक्रोश पोख्दै बजेट पुस्तिका नै च्यातेका हुन् ।

उनले भने, ‘म कम आक्रोश पोख्ने मान्छे हो, कहिलेकाहिँ रिस पनि उठ्छ । तर, जब यो भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म तातिएको छु । च्यातेर हुर्‍याउने मन छ ।’

त्यति भन्दै उनले रोष्ट्रममा उभिएर पुस्तिका च्यात्दै भन्छन्, ‘तर, संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो नहुर्‍याएर यहाँ राख्छु । यो मेरोमात्रै मनको कुरा होइन ।

अहिले कुनै नाप्ने चिज रहेछ भने यो हलमा बसेको जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्रबाहेक सबैको मनको कुरा हो । यसरी सामान्य लाजघिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी कतिदिनसम्म मान्छेले सहेर बस्छ ? सामान्य लाज पनि नराख्ने ?’