ओलीको आरोप: सरकारको हस्तक्षेपले फिफाले एन्फालाई निलम्बन गर्‍यो

होमल्याण्ड खबर

२०८३ असार १६ गते, मंगलवार १५:४९ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन् । मंगलबार (असार १६) काठमाडौंमा एमालेनिकट नेपाल खेलकुद महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् ।

खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेप रोक्न लागिपर्न उनले पार्टीका सम्बद्ध पक्षलाई निर्देशन दिए । उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोबल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रका सबैलाई अपिल गरे ।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यसको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

उनले खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको तत्कालीन सरकारले महत्त्वपूर्ण काम गरेको जिकिर समेत गरे ।

कार्यक्रममा केपी ओलीको भनाइ पढ्नोस्–
खेल क्षेत्रको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने हो । सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तराष्ट्रिय खेलमा नै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ । यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्दछ । टुप्पामा परिवर्तन गर्न खोजेर हुँदैन । यसलाई जरैदेखि परिर्वतन गर्नुपर्दछ, फेदैदेखि परिवर्तन गर्नुपर्दछ । अनि मात्रै परिवर्तन हुन्छ । तपाईंहरूको मनोबल कमजोर हुनु हुँदैन । एन्फा अहिले प्रतिबन्ध भयो । त्यसलाई प्रतिबन्धको अवस्थाबाट उन्मुक्त गर्ने र विश्वमा हाम्रा खेलाडीहरू अन्यत्रका जस्तै, विभिन्न खेलाडीहरूको नाम चम्किएजस्तै नेपाली खेलाडीहरूको पनि अन्तर्राष्ट्रियजगत्मा नाम चम्किन सक्छ । उनीहरूको कारणले नेपालको प्रतिष्ठा बढ्न सक्छ । यस दिशामा काम गरेर खेलकुद महासंघले योगदान गर्न सकोस् । न्युज एजेन्सी नेपाल