२८ श्रावण २०८३, बिहीबार
जनआस्था साप्ताहिक पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सरकारी संयन्त्र प्रयोग गरी श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वन्तत्रता, पत्रकार आचारसंहिता र नेपालको संविधानविरुद्ध रहेको महासंघ ठम्याइ छ ।
“पक्राउलगत्तै समाचारको स्रोत खोज्न प्रहरीबाट गए राति १ बजेतिर उहाँको घरमा र आज बिहानै कार्यालयमा खानतलासी गरिएको जानकारी प्राप्त भएको छ,” महासंघका तर्फबाट महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


समाचारमा चित्त नबुझेका विषयमा हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालमा रहेको महासंघले स्मरण गराएको छ । “यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको महासंघको बुझाइ छ,” विज्ञप्तिमा उल्लेख छ, “महासंघ सरकारको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गर्दछ ।”
महासंघले प्रेसविरोधी यस्ता व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र समाचारको विषय भए प्रेस काउन्सिलमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
“साथै, आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गर्दछ,” महासंघले भनेको छ ।
पत्रकार श्रेष्ठलाई बुधबार (साउन २७) राति करिब ९ बजे ललितपुरस्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको महासंघले जनाएको छ । हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।