२८ श्रावण २०८३, बिहीबार
६ महिनामा स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ ।
जेनजी प्रदर्शनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचारका लागि १३ फागुनमा सिंगापुर गएका थिए । त्यसपछि देउवा बिहीबार थाई एयरवेजको उडानमार्फत मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए ।


कांग्रेसमा अहिले आधिकारिकताको विवाद फेरि सर्वोच्च अदालतमा पुगेका बेला देउवाको आगमन हुन लागेको हो ।
देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुग्ने नेता विश्वकर्माले जानकारी दिए । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू देउवाको स्वागतका लागि जानेछन् ।
देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेता–कार्यकर्ताले सांस्कृतिक बाजागाजासहितको झाँकीले स्कर्टिङ गरेर लैजाने तयारी छ । त्यसका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्बिरसहित उपस्थित हुन निर्देशन दिइएको नेताहरूले बताएका छन् ।