कोशी प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखबिच भेट, मन्त्रीहरूकाे राजीनामाबारे जानकारी

होमल्याण्ड खबर

२०८३ श्रावण २८ गते, बिहीबार १६:५८ मा प्रकाशित

 कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन् ।

विराटनगर–३ मा रहेको प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसहितको टोली प्रदेश प्रमुख खापुङ भेट्न पुगेको थियो । भेटका अवसरमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयका साथै पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी गराएको आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बताए ।

उनले नयाँ मन्त्रीहरू सोमबारसम्ममा आउने विषयमा पनि प्रदेश प्रमुखलाई जानकारी दिएको बताए ।
प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलका अनुसार कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि खाली भएका मन्त्रालयको जिम्मेवारी तत्कालका लागि मुख्यमन्त्री कार्कीले जिम्मा लिएका छन् ।